झापा : पूर्वपश्चिम राजमार्गस्थित शिवसतासी सडकखण्डको दुधेमा माइक्रो बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसतासी नगरपालिका–६ निवासी श्रीप्रसाद पौडेलका छोरा रोज रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७८७० नम्बरको माइक्रो बसले सडक किनारमा हिँड्दै गरेका उनलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै चितवनको दारेचोकमा गएराति भएको पिकअप भ्यान दुर्घटनामा १२ जना घाइते भएका छन्। तीर्थयात्री बोकेको ग २ च ३८१५ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा १२ जना घाइते भएका हुन्।
घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ। घाइतेमध्ये गोर्खा ३ की ३२ बर्षीया सस्मीता थापा, गोखौकै ७३ वर्षीय भक्तबहादुर राना, चितवनका ३१ वर्षीय हेमबहादुर थापाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।