
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमासिंह कार्कीको म्याद तामेलीको विषयले संसदमा प्रवेश पाएको छ।
आज संसद बैठकमा बोल्नै सांसदहरुले अख्तियार प्रमुखको म्याद तामेल गर्न नसक्नु अदालतको कमजोरी भएको भन्दै प्रमुख कार्कीले कानुनको खिल्ली उडाउने काम गरेको बताए।
नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कार्कीको विषय विशेष समय लिएर उठाउनुपर्दा आफूलाई ग्लानि महसुस भएको बताए। बिस्तारै राज्य असफल हुनेतिर गइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे। 'कानुन मिच्नेको संख्या बढ्दै गइरहेको छ। कानुनी राज्यको सामान्य सद्धान्त समेत नबुझेकाहरु संवैधानिक पदमा विराजमान छन्,' उनले भने 'अख्तियार प्रमुखमाथि सर्वोच्चबाट जारी भएको म्याद तामेल गर्न नसकिएकोमा कानुनी राज्यको नै उपहास भएको छ।'
अख्तियार र अदालतबीचको यो समस्यालाई लिएर आँखा चिम्लेर बस्न नमिल्ने भन्दै उनले संसद र सभामुखको ध्यानाकर्षण गराए। 'सर्वोच्चले एउटा व्यक्तिको म्यादसम्म तामेल गर्न नसक्नुले राम्रो संकेत गर्दैन,' लिखित भनाइ राख्दै उनले भने, 'संवैधानिक ओहदाका प्रमुखबाट यस्तो काम गर्नु गराउनु आपत्तिजनक विषय हो।'
'आज अदालत जुन चौबाटोमा उभिएर सही बाटोमा हिँड्न प्रयासरत छ। त्यसलाई टेवा दिने कि नदिने?' उनले प्रश्न गरेका छन्। संवैधानिक पदका पदाधिकारीलाई महाअभियोग लगाउनेबाहेक अन्य कुनै विधिबाट पद छोडाउन नमिल्ने भन्दै सांसद अधिकारीले विशेषाधिकार सम्पन्न व्यक्तिले संविधान र कानुनको खिल्ली उडाउँदा सांसद र संसदले टुलुटुलु हेरेर बस्न नमिल्ने बताए।