
काठमाडौं : नायिकाको रुपमा दर्शकको प्रिय बनेकी रेखा थापाले निर्माताको रुपमा पनि सफलता नै चाखिन्। त्यसैले उनले होम प्रोडक्सन रेखा फिल्मसबाट एकपछि अर्को हिम्मतवाली, रामप्यारी, काली जस्ता फिल्म बनाइन्।
२०७४ का लागि पनि उनले आफ्नो अभिनय एवं निर्माण रहने नयाँ फिल्म घोषणा गरेकी छिन्। रेखाले नयाँ प्रोजेक्ट ‘कसले चोर्यो मेरो मन फेरि’ बनाउने जानकारी दिएकी हुन्।
फिल्मलाई यसअघि रेखा थापाको फिल्म हिम्मतवाली निर्देशन गरेका सविर श्रेष्ठले नै निर्देशन गर्नेछन्। आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको ‘कसले चोर्यो मेरो मन फेरि’को युनिट सुटिङका लागि भने यही वर्षको माघदेखि फ्लोरमा निस्कनेछ ।
सविर श्रेष्ठको डेव्यु निर्देशनमा सात वर्ष पहिले सुपरहिट भएको फिल्म ‘कसले चोर्यो मेरो मन’मा ‘फेरि’ थपेर रेखाले नयाँ फिल्म निर्माणको तयारी गरेकी हुन्। ‘कसले चोर्यो मेरो मन’ मा नायक आर्यन सिग्देल रेखाको अपोजिटमा थिए। नयाँ फिल्मका लागि भने नायक निश्चित भएको छैन।
'हामी अभिनय राम्रो गर्ने नायकको खोजीमा छौं,’ रेखाले भनिन्, ‘नायक नयाँ पुरानो जो भए पनि स्क्रिप्टमा फिट हुनुपर्दछ।’