वीरगन्ज : भन्सार छलेर नेपाल भित्र्याउँदा पक्राउ परेको कपडा सहितको गाडी रौतहट प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाएको छ।
रौतहट प्रहरीले शुक्रबार राति ८ बजे बा १ क ३६८४ नम्बरको पिकअप र अर्को एउटा जीप अवैध रुपले ल्याइएको कपडा सहित सखुअवा चोकबाट बरामद गरेको थियो।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको गोप्य सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतको बैरगनिया बजारबाट गौरको मुख्य नाका भएर महादेवपटी हुदै नेपाल भित्रिरहेको जीपलाई प्रहरीले समातेको थियो।
कपडाको कूल मूल्य कति हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 'यथार्थ मूल्य थाहा नभए पनि लाखौँको कपडा भन्सार नछली भित्र्याइएको अनुमान छ,' प्रहरी स्रोतले भन्यो।
कपडा कसले ल्याएको भन्ने समेत खुलि नसकेको प्रहरीको भनाइ छ। प्रहरीले गौरकै सुनिल जैसवाल भन्ने व्यक्तिलाई आशंका गरेको छ। जैलवाल विगतमा पनि रौतहटबाट विभिन्न मालसमानको तस्करी गर्दै आएको प्रहरीको दाबी छ।