काठमाडौं : यसपटकको पर्यटकीय सिजनका लागि सरकारले जापानी पर्यटकलाई विषेश महत्व दिएको छ।
नेपाल जापान सम्बन्धको ६० वर्ष पुगेको अवसरमा जापानी पर्यटकले विभिन्न पर्यटकीय गन्तव्यमा एवं ट्रेकिङ रुटमा छुट देखि होटल सम्ममा सहुलियत पाउनेछन्।
नेपाल पर्यटन बोर्डका अनुसार निजी क्षेत्रसँगको समन्वयमा यो अफर ल्याइएको हो। जापानीले पर्यटकले सन् २०१७ को फेब्रुअरीसम्मका लागि यो अफर पाउनेछन्।
सेप्टेम्बरमा सुरु अफर एक सिजन रहन लागेको हो। मार्चदेखि नेपालमा नयाँ पर्यटकीय सिजन सुरु हुन्छ।
जापानीहरुलाई ट्रेकिङ एजेन्ट एसोसिएस अफ नेपाल (टान) अन्तर्गतका सेवा प्रदायकले विभिन्न ट्रेकिङ रुटको शुल्कमा ३४ प्रतिशत सम्म छुट दिने निर्णय गरेको टानका महासचिव कर्ण लामाले बताए। सरकारको निर्णय पछि निजी क्षेत्रका विभिन्न ट्रेकिङ एजेन्सीहरुले छुट घोषणा गरिसकेका छन्।
स्विस फेमिली ट्रेक्सले अन्नपूर्ण बेस क्याम्प भ्रमण गर्दा २१५ डलर छुट दिएको छ। यो कम्पनीले पुरा शुल्क एक हजार २९० अमेरिकी डलर लिँदै आएको थियो। अहिलेका लागि जापानीले भने एक हजार ७५ डलर तिरे पुग्छ।
यस्तै एभरेस्ट बेसक्याम्प ट्रेक्सले दुई सय ८२ अमेरिकी डलर छुट दिएको छ। लाङटाङ भ्याली ट्रेकले पनि २०५ अमेरिकी डलर छुट दिएको छ।
नेपाल इन्भारोमेन्टल ट्रेक्सले पनि अन्नपूर्ण बेसक्याम्पका लागि २५ प्रतिशत छुटसहित ९५० डलरमा घुमाउने जनाएको छ। कम्पनीले एभरेस्ट बेसक्याम्पका लागि २५ प्रतिशत छुट सहित एक हजार ४५० अमेरिकी डलरमा जापानीज पर्यटकलाई घुमाउने भएको छ। त्यस्तै लाङटाङ कल्चरल ट्रेकले २५ प्रतिशत छुट दिँदै आठ सय डलरमा ट्रेकिङ गराउने भएको छ।
जापानी पर्यटकलाई आउटडुअर हिमालयन ट्रेक्सले अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण सर्किट ट्रेक, घोरेपानी पुन हिल ट्रेक, कन्चनजङ्घा बेस क्याम्प ट्रेक, रोल्वालिङ इको कल्चरल ट्रेक, जोमसोम मुक्तिनाथ ट्रेक, अपर डोल्पो ट्रेक, धौलागिरि सर्किट ट्रेक, अपर मुस्ताङ ट्रेक, अराउण्ड काठमाडौं भ्याली ट्रेक, एभरेष्ट बेसक्याम्प ट्रेक, साराङकोट धम्पुस हाइक, सुनकोसी र्याफ्टिङमा २० प्रतिशत छुट दिएको छ।
थर्ड आई एडभेन्चर र शक्ति ट्रेक्स नेपालले हरेक ट्रेकमा १५ प्रतिशतका दरले छुट दिने जनाएका छन्। हिमालय ट्रेकिङले भने विभिन्न ट्रेकिङमा ३४ प्रतिशतसम्म छुट घोषणा छ।
त्यस्तै नेपाल होमस्टे एसोसिएशन (होसान) ले जापानी पर्यटकलाई २० प्रतिशत छुट दिएको छ। एसोसिएशनसँग सम्बद्ध सबै होमस्टेमा यो छुट लागू हुने होसानले जनाएको छ।
नेपाल वायुसेवा निगमले सो अवधिमा आउने जापानी पर्यटकलाई दुई वटा टिकट निशुल्क दिने भएको छ। निगमले कुनै पनि एयरलाइन्सवाट काठमाडौं आउने पर्यटकले यो सुविधा पाउने बताएको छ। निगमका प्रवक्ता रामहरि शर्माले अन्तराष्ट्रिय हवाई कम्पनीसँगको सहकार्यमा यस्तो सेवा दिन लागेको बताए।
त्यस्तै बुद्ध एयरले १० जना भाग्यशाली जापानी पर्यटकलाई निशुल्क माउन्टेन फ्लाइटमा उडाउनेछ।
यो अफर सुरु भएसँगै जापानी पर्यटक आगमनका राम्रो संकेत देखिएको पर्यटन बोर्ड अधिकारीले जनाएका छन्। 'यो अवसरलाई प्रयोग गरेर जापानी पर्यटकको आगमनलाई बढाउने योजना छ,' बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले भने, 'धेरै जापानी बौद्ध धर्म मान्ने भएका कारण लुम्बिनी लगायत अन्य ठाउँको भ्रमण गर्नका लागि यो अफरले सहयोग पुग्ने अपेक्षा छ।'
यसका लागि नेपालमा पर्यटनसँग सम्बन्धित सरकारी निकाय र नीजि क्षेत्रका संघ संस्थाहरु सहयोग गरिरहेको उनले बताए।