काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गोवा सम्मेलनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनावश्यक हल्ला फिँजाएको बताएका छन्।
रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय वार्ता भएको भनेर गरिएको हल्ला कूटनीतिक मर्यादाबाहिर समेत बताए।
'उहाँले प्रचारका लागि हल्ला गर्नुभयो,' नेता रावलले भने, 'प्रतीक्षालयमा बस्दा कुनै देशको प्रमुख वा सरकार प्रमुखसँग भेट हुनु नौलो कुरै होइन।’ हिँड्दाहिँड्दै भएको भेटलाई लिएर प्रधानमन्त्रीले आफ्नो छाती सिंहको जत्रो भएको बताए पनि आफूले सिङ नभएको स्यालजस्तो देखेको रावलले बताए।
'संयुक्त राष्ट्रसंघको बैठकमा जाँदा विश्वका धेरै नेताहरुसँग हिँड्दाहिँड्दै भेट भएको छ। फोटो सेसन चलेको छ,' उनले भने, ‘तर त्यसलाई मैले सामान्य रुपमा लिएँ। प्रचारको विषय बनाइनँ। अमेरिकी राष्ट्रपति बाराक ओबामासँग पनि भेट भएको थियो, मैले त यत्रो हल्ला गरिनँ।'
प्रधानमन्त्रीको सचिवालयले प्रतीक्षालयमा भएको भेटलाई त्रिदेशीय साझेदारीमा समझदारी भयो भनेर प्रचार गरेको रावलको भनाइ छ। उक्त प्रचार भएको केही घन्टा बित्न नपाउँदै नेपालकै परराष्ट्र मन्त्रालयले खण्डन गर्नु कूटनीतिक असफलता भएको उनले दाबी गरे।