
न्युयोर्क : अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणको पछिल्लो नतिजामा हिलारी क्लिनटन नै अगाडि देखिएकी छिन्।
आगामी नोभेम्बर ८ मा हुने निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि छन्।
किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन अगाडि देखिएकी छन् भने ओहिओमा भने ट्रम्प अगाडि छन्।
महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेको सर्वेक्षणकर्ताले जनाएका छन् ।
सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनुले नै ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ।
करिब एक हप्ताअगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रव्यदृश्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो।
सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृश्य देखाइएको थियो। कुराकानीको क्रममा ट्रम्पले 'तिमी हलिउडका एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ' भनेका रहेछन्।
साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुवै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका सार्वजनिक भएको थियो।
'महिलालाई जे गरे पनि हुन्छ' भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अँगालोमा कस्ने वा चुम्बन गर्ने जस्ता यौनजन्य दुर्व्यवहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिँदै क्लिन्टनले ट्रम्पलाई आच्छुआच्छु पारेकी थिइन्।
क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायो र ट्रम्प तत्काल विगतको घटनाका लागि माफी माग्न बाध्य भए।
निर्वाचनको एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन्।रासस/एपी