PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लोकमानको टाइमलाइनमा लाग्नै लागेको हो त पूर्णविराम?



मनोज सत्याल

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध परेको मुद्दाको पुनरावलोकन मुद्दा तामेल भएको छ।

कार्की र उनको परिवारले मुद्दा तामेल नगरेपछि अदालतले मुद्दा तामेल गराउने प्रक्रिया अगाडि बढाएको थियो। साथै तामेलदार समेत परिवर्तन गरेको थियो। म्याद तामेल गर्न तामेल शाखाका प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकाल लागयतका व्यक्ति खटिएका थिए। उनीहरुले वडा सचिव सरिता राईको रहोबरमा म्याद तामेल भएको प्रतिवेदन सर्वोच्चमा दिएका हुन्।

सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले म्याद तामेल भइसकेको पहिलोपोस्टलाई जानकारी दिए।

बानेश्वरस्थित कार्कीको घरमा म्याद टाँस्न गएको सर्वोच्चको टोलीमाथि सोमबार अवरोध पुर्‍याएपछि दिउँसो टाँस गर्न सकिएको थिएन। वडा नम्बर १० की सचिव सरिता राईको रोहबरमा कार्कीलाई लिखित जवाफ पेश गर्नेगरी अबेर मात्रै तामेल गराइएको थियो।
 
'हो हो हिजै तामेल भयो,' पौडेलले भने, 'उहाँलाई अब लिखित जवाफ पेश गर्न १५ दिनको समय छ।' उनले कार्कीले पाएको अवधिमा जवाफ नदिए अवधि कटाएर मुद्दा पेशी चढ्ने बताए।

योसँगै कार्कीले लिखित जवाफ दिने समय १ गतेबाट सुरु भएको छ।
 
प्रधानन्यायाधीश सुशीला कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले गत असोज ३१ मा उत्प्रेषणयुक्त आदेश जारी गर्दै यसअघि सर्वोच्चले नै गरेको फैसला पुनरावलोकन गर्ने निस्सा प्रदान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell