काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग माल्दिभ्सका सेनापति अहमेद सियामले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र माल्दिभ्सबीच विगतदेखि अत्यन्तै राम्रो सम्बन्ध रहँदै आएको बताउँदै आपसी सद्भाव र भेटघाटले दुई देशबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे।
भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको भन्दै नेपाल र माल्दिभ्सको सेनाबीच पनि लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताए।
सो अवसरमा माल्दिभ्सका सेनापति सियामले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको भन्दै सेना समायोजनको सफलताप्रति खुसी व्यक्त गरे। रासस