PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन माग



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई/मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्।
 
उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।
 
नेपाली काँग्रेसका फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव सदनमा छिटो प्रस्तुत गर्न माग गर्दै संविधान संशोधनले मात्र तराई/मधेसको समस्याको समाधान हुन्छ भने।
 
काँग्रेसकै तेजुलाल चौधरीले प्रधानमन्त्रीले संविधानका बारेमा बोलेका कुरालाई व्यावहारिक रूपमा कहिले पूरा गर्छन् भन्ने प्रश्न गर्दै संविधान संशोधनका विषयमा उनको बोलाइ र गराइ फरक रहेको पाइएको बताए।
 
नेकपा (एमाले)का भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिक्स सम्मेलन र त्यहाँ उनले गरेको द्विपक्षीय भेटघाटका बारेमा सदनलाई जानकारी गराउन माग गरे। सोही दलका रेवतीरमण भण्डारीले संविधान संशोधनका बारेमा सरकारले प्रमुख प्रतिपक्षी दलसित कुनै संवाद नगरेको बताउँदै बिनासंवाद संविधान संशोधनको प्रस्ताव सरकारका तर्फबाट नल्याउन चेतावनी दिए।
 
नेकपा (माओवादी केन्द्र)का हरिबोल गजुरेलले सबै दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत गर्न माग गर्दै संविधान संशोधन गर्दा सहमत भएका दलले पनि सहयोग गर्नुपर्छ भने। सोही दलका श्यामकुमार श्रेष्ठले भूकम्पपीडितलाई आवास निर्माण गर्न सरकारले दिने भनेको अनुदान वितरण गर्न रामेछापमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell