PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विवादमा तानिँदै गृहमन्त्री, 'अवैध कारोबारी छाड्न' नमान्ने एसपीलाई मन्त्रालय झिकाइयो



राधेश्याम पटेल

विवादमा तानिँदै गृहमन्त्री, 'अवैध कारोबारी छाड्न' नमान्ने एसपीलाई मन्त्रालय झिकाइयो

वीरगन्ज : पर्साका एसपी डा. राजुबाबु श्रेष्ठ गृह मन्त्रालयमा तानिएपछि चर्को आलोचना भएको छ।
 
पर्साका कांग्रेसी नेताहरुको सल्लाहबमोजिम काम नगरेपछि मन्त्रालयमा उनीविरुद्ध गुनासो पुगेको थियो। यसपछि छानबिन गर्न भन्दै एसपी श्रेष्ठलाई मन्त्रालयले तानेको हो। गृह मन्त्रालयले मंगलबार बिहान ११ बजे हाजिर हुने गरी आइतबार पर्सा प्रहरीलाई पत्र पठाएको थियो। एसपी श्रेष्ठ सोमबार दिउँसो काठमाडौंको लागि हिँडेका थिए। मंगलबार नै उनी मन्त्रलायमा हाजिर पनि भए।
 
गैरकानुनी रुपमा कर्जाको लेनदेन, अवैध हुण्डीको कारोबार गरेको आरोपमा पक्राउ परेकालाई छाड्न गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा कांग्रेसी नेताहरुको एसपी श्रेष्ठमाथि दबाब दिँदै आएका थिए। काग्रेसका पूर्व सभासद् तथा व्यापारी ओमप्रकाश शर्मा लगायतको नेताहरुको चाहनाअनुसार जिल्लाका काम नगरेपछि गृहमन्त्री निधिसमक्ष एसपी श्रेष्ठको सरुवाको लागि प्रपञ्च रचेको प्रहरी स्रोतका एक अधिकृतले बताए। जिल्लामा इमान्दार एसपीकोको रुपमा पहिचान बनाएका श्रेष्ठलाई मन्त्रालयमा झिकाइएको प्रति वीरगन्जका नागरिक समाजले असन्तुष्टि व्यक्त गरेका छन्।
 
वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई भन्छन्, ‘प्रहरी मेरो साथी नामक अभियानलाई पर्सामा राम्रोसँग सञ्चालन गरी उत्कृष्ट एसपीको रुपमा नेपाल प्रहरीको अवार्ड जितेका एसपीमाथि आरोप लगाइनु दुखद कुरा हो।’
 
एक निर्दोष महिलालाई पर्सा प्रहरीले फसाउन खोजिएको भनी गृह मन्त्रालयमा दाबीसहितको गुनासो पुगेको छ।
 
नेपाल प्रहरीका प्रहरी आइजिपी अमेरिका रहेको मौका छोपी एसपी श्रेष्ठलाई मन्त्रलायमा झिकाइएको प्रहरी स्रोतले जनाएको छ। एसपी श्रेष्ठले मंगलबार नै गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेका छन्।
 
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा ब्रिफिङ गर्न प्रहरी केन्द्रीय कार्यालयले प्रहरी उपरीक्षक श्रेष्ठलाई बोलाएको प्रतिक्रिया दिए।
 
गत असोज १६ गते वीरगन्जको रेशमकोठीबाट प्रहरीले अवैध वित्तीय कारोबार गर्ने गिरोहका मुख्य कारोबारीसहित १२ जनालाई ८१ लाख नगद र एक करोड ३२ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो। मुजफरपुर स्थायी घर भएका ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयन्का, छोरा ३२ वर्षीय विक्की भन्ने अकुंर जैन, पर्साको लंगडी गाविस १ घर भएका ३३ वर्षीय सुनिलकुमार पटेल र वीरगन्ज उपमहानगरपालिका– ३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुरलगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। बाँकी ७ जनालाई निर्दोष पाइपछि उनीहरुलाई भोलिपल्टै छाडिएको थियो।
 
सन्तोष जैनको घरमा उनकी श्रीमती उषाको नाममा दर्ता रहेको न्यु नेहा ओभरसिजमा गत असोज १६ गते दिउँसो छापा मारेर जैन दम्पतीसहित पाँच जनालाई नगद रकम र चेकसहित पक्राउ गरिएको थियो। वीरगन्जका कांग्रेस नेता र उद्योगीले भने सन्तोष जैन र उनका छोरा अंकुर दोषी भए पनि सन्तोषकी श्रीमती उषा निर्दोष रहेको दाबी गर्दै आएका छन्।
 
प्रहरीले पाँचै जनालाई अदालतबाट २० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell