PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​च्याम्पियन्स लिग : लेस्टरको लगातार तेस्रो जित, रियल र डर्टमण्ड विजयी



पहिलोपोस्ट

​च्याम्पियन्स लिग : लेस्टरको लगातार तेस्रो जित, रियल र डर्टमण्ड विजयी

इंगलिस च्याम्पियन लेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको डेब्यु सिजनमा लगातार तेस्रो जित हात पारेको छ। समूह जीमा अपराजित यात्रा कायम राख्ने क्रममा लेस्टरले डेनमार्कको एफसी कोभनहेगनलाई १-० ले पराजित गर्‍यो। 

घरेलु मैदानमा भएको खेलमा लेस्टरका लागि रियाद महारेजले निर्णायक गोल गरे। लेस्टर समूह चरणमा यसअघि क्लब ब्रग र एफसी पोर्टोलाई हराइसकेको छ। लगातार ३ जितसँगै ९ अंक जोडेको लेस्टर समूहको शीर्ष स्थानमा छ।

समूह जीकै अर्को खेलमा १ गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्टोले क्लब ब्रगलाई २-१ ले पराजित गरेको छ। घरेलु मैदानमा जेले भोसनले गोल गर्दै बु्रगलाई अग्रता दिलाए पनि मिगुएल लायुन र आन्द्रे शिल्भाले गोल गर्दै पोर्टोलाई जित दिलाए। 

यस्तै समूह एफमा स्पानिस जायन्ट रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले अपराजित यात्रा कायम राख्दै समूहमा दोस्रो जित हात पारेको छ। रियलले पोलिस क्लब लेगी वार्सालाई ५-१ ले हरायो। रियलको सहज जितमा गारेथ बेल, मार्को असेन्सिओ, लुका भ्वाजक्वेज र अल्भारो मोराटाले गोल गरे। वार्साका थोमस जोड्लोवेकले आत्मघाती गोल गरेका थिए। वार्साका लागि मिरोस्लाभ राडोभिकले पेनाल्टी मार्फत सान्त्वना गोल गरे।

अर्को खेलमा डर्टमण्डले पोर्चुगिज कलब स्पोर्टिङ सिपीलाई २-१ ले पराजित गर्‍यो। डर्टमण्डका लागि पिएरे एमरिङ औवामायङ र युलियन विगललले १/१ गोल गरे। स्पोर्टिङका ब्रुनो सेजारले १ गोल फर्काए पनि घरेलु मैदानमा हार टार्न पर्याप्त भएन। 

दुई जित र एक बराबरी खेलेका डर्टमण्ड र रियल समान ७ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा रहेका छन्।

अर्को स्पानिस क्लब सेभियाले समूह एचको खेलमा डाइनामो जाग्रेबलाई १-० ले पराजित गरेको छ। सेभियाको जितमा समिर नास्रीले निर्णायक गोल गरे। यसै समूहको अर्को खेलमा १० खेलाडीमा रहेर पनि इटालियन च्याम्पियन युभेन्ट्सले फ्रेन्च क्लब लियोनलाई १-० ले हरायो। अलेज्यान्डर लाकाजेट्टेले पेनाल्टीमा गोल गर्न असफल भएपछि लियोनले पहिलो हाफमै अग्रता लिने मौका गुमाएको थियो। युभेन्ट्सका भेट्रान गाेलरक्षक जियानलुजी बफोनले लाकाजेट्टेको पेनाल्टी सेभ गरेका थिए।

दोस्रो हाफमा मारियो लेमिना दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिए पनि जुआन कुअड्राडोले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए। समूह चरणमा अपराजित रहेका युभेन्ट्स र सेभिया समान ७ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्। 

लियोन पराजित भएकै दिन अर्को फ्रेन्च क्लब मोनाकोले रसियन क्लब सिएसकेए मस्कोसँग १-१ गोलको बराबरी खेलेको छ। समूह ईको खेलमा १ गोलले पछि परेर पनि खेलको अन्त्यतिर बर्नान्डो शिल्भाले गोल गर्दै बराबरी गरेका हुन्। त्यसअघि लासिना ट्रओरले गोल गर्दै मस्कोलाई अग्रत दिलाएका थिए।

समूह ईकै अर्को खेलमा इंगलिस क्लब टोटनहम हट्सपर र जर्मन क्लब वायर लेभरकुजनले गोलरहित बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell