
थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुडीलाई फिफाले ५ वर्षको प्रतिबन्ध लगाएको छ।
अनुसन्धानमा सहयोग गर्न इन्कार गर्नुका साथै धोका दिएको भन्दै फिफाको एन्टी करप्सन कोर्टले माकुडीलाई ५ वर्षको लागि सबैखाले फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको हो। उनको प्रतिबन्ध तत्कालै सुरु हुनेछ।
थाइल्याण्ड फुटबल एसोसिएशनको प्रमुख रहँदा विभिन्न काण्डमा मुछिएका उनलाई १० हजार स्वीस फ्रान्क अर्थात् ३ लाख ५० हजार थाई भाट जरिवाना समेत लगाइएको छ। गत वर्ष थाई फुटबल संघको चुनावमा थाई कोर्टले उनलाई दोषी ठहराएको थियो।
सन् २०१०, २०१८ र २०२२ को विश्वकप आयोजक छनोट गर्ने फिफाका २२ पदाधिकारीमध्ये माकुडी पनि एक हुन्। जसमध्ये १० जना भ्रष्टाचार र घुस काण्डमा मुछिएका छन्।
यसअघि नै फिफाका तत्कालीन अध्यक्ष जोसेफ सेप ब्लाटर, युरोपियन फुटबल संघका अध्यक्ष मिचेल प्लाटिनी लगायतका व्यक्तिलाई फिफाको एथिक कमिटीले प्रतिवन्ध लगाइसकेको छ।