PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बन्दरगाहबाट भाग्नै लाग्दा सशस्त्रले समात्यो ट्रक, चोरी हुँदा पनि बेखबर भन्सार



राधेश्याम पटेल

बन्दरगाहबाट भाग्नै लाग्दा सशस्त्रले समात्यो ट्रक, चोरी हुँदा पनि बेखबर भन्सार

वीरगन्ज : सशस्त्र प्रहरीले सुक्खा बन्दरगाहबाट मल चोरेर निस्किन लागेको एउटा ट्रक पक्राउ गरेको छ।
 
सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरका अनुसार वीरगन्जको श्रीर्सिया सुक्खा बन्दरगाह अन्तर्गत रहेको बेस क्याम्पले मल चोरी गरी भाग्न लागेको एउटा ट्रकलाई पक्राउ गरेको हो।
 
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र गिरीको टोलीले ना ६ ख ३३५८ नम्बरको ट्रक पक्राउ गरेको हो। ट्रकले कृषि सामग्री कम्पनी लिमिटेडले नेपाली कृषकको लागि आयात गरेको ४२० बोरा युरिया मल लिएर बन्दरगाहबाट भाग्नै लाग्दा पक्राउ गरेको थियो।
 
विराटनगरको विशाल ट्रेडिङ ढुवानीकर्ता रहेको सो ट्रकले विगतमा पनि बन्दरगाहबाट मल चोरी गर्दै आएको रहस्य खुलेको छ। भन्सार कर्मचारीले रेखदेख गर्ने सबै गेट पार गरेर ट्रक बाहिरिनै लागेको अवस्थामा मंगलबार दिउँसो २ बजे अन्तिम गेट नं १ सशस्त्रले पक्राउ गरेको हो। ढुवानीकर्ता कम्पनीको ठेकेदार रोहित यादव हाल फरार छन्।
 
ट्रकका चालक गोविन्द तामाङ र सहचालक सुवास लामालाई पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी चौकी श्रीर्सियाको हिरासतमा पठाइएको छ। चालक र सहचालक मकवानपुरका हुन्। पक्राउ परेका ट्रकलाई श्रीर्सिया सुक्खा बन्दरगाहमा राखी अनुसन्धान भइरहेको छ।
 
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्र कार्कीले भन्सार प्रशासनको लापारबाहीका कारण यो घटना भएको बताए। 'यसअघि पनि ४ पटक बन्दरगाहबाट सामान चोरी गरेर ट्रक बाहिरिएको थियो, यो घटना बन्दरगाह प्रशासनको लागि एकदमै लज्जास्पद हो,' उनले भने।
 
श्रीर्सिया सुक्खा बन्दरगाहका प्रमुख सूर्य सेढाईले त्यसरी सामान चोरी गरि ट्रक निस्कनुमा ड्राईपोर्ट सञ्चालक कम्पनी हिमालयन टर्मिनल दोषी रहेको तर्क गरे।  हिमालयन टर्मिनलका वित्त प्रमुख अनिमेश कुमारसंग बुझ्न खोज्दा उनको फोन उठाएनन्।
 
मंगलबार सशस्त्र प्रहरीले उक्त ट्रक सहित पर्साका विभिन्न स्थानबाट भन्सार छलेर भित्र्याइएको दुई हजार कुखुराको चल्ला, भारतीय कपडा तथा मोटरपार्ट्सको समान बारामद गरेको छ। सीमा सुरक्षाका लागि खटिएको टोलीले यी अवैध सामान बरामद गरेको हो।
 
वीरगन्ज भन्सारस्थित राजश्व चुहावट नियन्त्रक गुल्मले बिहान ६ बजे इनार्वा–सहदेवा नाकाबाट १५ वटा कार्टुनमा नेपाल भित्र्याइरहेको २ हजार अवैध भारतीय कुखुराको चल्ला बरामद गरेको छ। गुल्मले पशु क्वारेन्टाईन कार्यालय पर्साका प्रतिनिधि तथा सञ्चारकर्मीको रोहबरमा गुल्मको कार्यालय परिसरमा खाल्डो खनी चल्ला नष्ट गरेको छ।
 
दिउँसो १ बजे सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सवैठवाका सशस्त्र प्रहरी निरीक्षक भवराज कटवालको नेतृत्वमा सबैठवा –भिस्वा नाकामा खटेको टोलीले १५ हजार मूल्य बराबरको भन्सार छलेको मोटरपार्टसको सामान नियन्त्रणमा लिएको छ।
 
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्सा परिसरभित्र रहेको सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्ले वीरगन्ज बजारबाट ४ लाख मूल्य बराबरको अबैध भारती कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक ठाकुरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell