
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि नै संविधान संशोधन प्रक्रिया सुरु हुने बताएका छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे जानकारी गराउने क्रममा यस्तो बताएका हुन्। संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले गोवा भ्रमणका साथै वर्तमान राजनीतिक विषय र सरकारको कामकारबाहीबारे जानकारी गराए। संविधान संशोधन भएपछि तीनै तहका निर्वाचन गर्ने सरकार लागिपरेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका र श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमुखहरुसँग भएका द्वीपक्षीय र बहुपक्षीय भेटका बारेमा उनले जानकारी गराएका थिए। असोज २९ देखि कात्तिक १ गतेसम्म भएको सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे पनि उनले बताएका छन्।
प्रधानमन्त्री र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो। आज दिउँसो व्यवस्थापिका संसदमा पनि उनले गोवा भ्रमणबारे जानकारी दिने कार्यक्रम छ।