
एडेन (यमन) : अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धविराम हुने घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धविरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेको इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने कुनै प्रतिक्रिया जनाएको छैन।
गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धविराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताए।
युद्धविराम सुरुमा ७२ घन्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उनले बताए।
यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण ७ हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ।रासस/एएफपी