
काठमाडौं : अखिल नेपाल चलचित्रकर्मी संघले अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आउँदो पुस २७ देखि माघ २ गतेसम्म धरानमा चल्ने महोत्सवमा भाग लिनका लागि संघले विश्वभरका चलचित्रकर्मीलाई आवेदनका लागि आह्वान समेत गरेको छ।
मंसिर १० गतेसम्म सहभागी हुन चाहने चलचित्र युनिटले आवेदन पेश गर्न सक्नेछन्। हालसम्म भारत, बंगलादेश, इजिप्ट, श्रीलंका, चीन, क्युवा लगायतका देशबाट ३० भन्दा बढी चलचित्रहरुको आवेदन आएको संघले जानकारी दिएको छ।
'अनलाइनमार्फत आवेदन दिन सकिने भएकाले विश्वका जुनसुकै कुनाको फिल्मकर्मीलाई पनि सहभागी हुन सहज भएको छ,' संघका अध्यक्ष केपी पाठकले बताए।
महोत्सवका लागि चलचित्र, डकुमेन्ट्री, ‘सर्ट मुभी’ जस्ता विधा छुट्याइएको छ। त्यहीअनुरुप फिल्म प्रदर्शन हुने पाठकले जानकारी दिए।
अन्तर्राष्ट्रिय अवार्डमा बेस्ट फिचर फिल्मका लागि एक लाख रुपैयाँ राशिको ‘गौतम बुद्ध फिल्म अवार्ड’, बेस्ट डकुमेन्ट्रीका लागि ५० हजार राशिको ‘सगरमाथा फिल्म अवार्ड’ र बेस्ट सर्ट फिल्मका लागि ३० हजार राशिको ‘रारा फिल्म अवार्ड’ रहेको छ।
राष्ट्रिय अवार्डतर्फ भने ५० हजार राशिको श्रीजंग अवार्ड, ३० हजार राशिको रामप्रसाद राई अवार्ड र २० हजार राशिको चतुरमान राजवंशी अवार्ड वितरण गरिनेछ।
हालसम्मका सम्पूर्ण चलचित्रसम्बन्धी कार्यक्रम राजधानीमै हुने गरेकाले पहिलोपल्ट मोफसलमा गर्न लागिएको पाठकले बताए। ‘हामीले मोफसलमा महोत्सव गरेर संसारभरि कस्ताकस्ता चलचित्र चल्ने रहेछन् भन्ने आम नेपालीले थाहा पाउन् भन्ने चाहन्छौं,’ उनले भने।