PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहका विषयमा निकाल्ला निष्कर्ष?



रमेश वाग्ले

कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहका विषयमा निकाल्ला निष्कर्ष?

काठमाडौं : स्थानीय तहको संख्या र मापदण्डका विषयमा निर्णय गर्न भोलि कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्य विषय स्थानीय तहको निर्माण र त्यसको निर्वाचन भए पनि पार्टीका आन्तरिक विषयमा पनि छलफल हुनेछ।
 
‘मुख्यत: कांग्रेसले स्थानीय तहको संख्या र चुनावका विषयमा धारणा बनाउने विषय बैठकको मुद्दा हो,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘त्यसका लागि यसअघिको जिल्ला सभापति भेला, सांसद्हरुको भेला र सात जना केन्द्रीय सदस्यहरुले सात प्रदेशबाट ल्याएको निष्कर्षलाई आधार मानिनेछ।’
 
कांग्रेसले स्थानीय निकायको निर्माण गर्दा कम विवाद कसरी हुन सक्छ र चुनाव सम्भव गराउन के गर्नुपर्छ भनेर स्थानीय जनताको धारणा बुझ्न एक महिनाअघि काठमाडौंमा जिल्ला सभापतिहरुको भेला गरेको थियो। लगत्तै जिल्ला सभापति र सांसदहरुको संयुक्त भेला गरी स्थानीय तह निर्माणका विषयमा छलफल गरेको थियो। त्यही भेलामा स्थानीय तह पुनर्संरचना आयोगले गरिरहेको कामका विषयमा जानकारी लिएको थियो। ती छलफलका निष्कर्षलाई केन्द्रीय समितिको छलफलको एजेन्डा बनाएको छ।
 
त्यसबाहेक कांग्रेसले सात केन्द्रीय सदस्यहरुलाई पनि सात प्रदेशबाट सुझाव ल्याउनेगरी खटाएको थियो। जसमा १ नम्बर प्रदेशमा विश्वप्रकाश शर्मा, २ नम्बर प्रदेशमा महेन्द्र यादव, ३ मा नवीन्द्रराज जोशी, ४ मा गोविन्द भट्टराई, ५ मा चन्द्र भण्डारी, ६ मा पूर्णबहादुर खड्का र ७ नम्बर प्रदेशमा एनपी साउदलाई खटाएको थियो। त्यसरी खटेका केन्द्रीय सदस्य टोलीको संयोजन पूर्णबहादुर खड्काले गरेका थिए।
 
केन्द्रीय सदस्यहरुको रिपोर्ट, जिल्ला सभापति भेलाको निष्कर्ष र सांसद भेलाको निष्कर्षलाई अध्ययन गरेर केन्द्रीय समिति बैठकले थप निर्णय लिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell