काठमाडौं : कार्यव्यवस्था परामर्श समितिले महाभियोग समिति गठन गर्ने निर्णय गरेको छ।
आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। सम्भवत: केही बेरमा समितिका सदस्यहरुको नाम सार्वजनिक हुनेछ। सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव संसद बैठकमा पेश गर्ने कार्यसूची छ। समितिमा ११ सदस्यीय रहेका छन्। जसमा नेपाली कांग्रेस र एमालेबाट ४/४ जना, माओवादी केन्द्रबाट २ र राप्रपा नेपालबाट १ जना छन्। महाभियोग सिफारिस समितिमा कांग्रेसबाट फरमुल्लाह मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मी राई र दीपक कुइँकेल रहेका छन्।
संविधानमै भएको व्यवस्था कार्यान्वयनका लागि समिति बन्न लागे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा चर्को बहस सुरु भएकै दिन हिजो यो प्रक्रिया अघि बढेको थियो।
नेपालको संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ। महाअभियोग लगाउने आधार र कारण विद्यमान भए/नभएको छानविन गरी सिफारिस गर्न संसदीय समिति रहने परिकल्पना संविधानले नै गरेको छ।
जसमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाएर हटाउने प्रस्ताव संसदबाट दुई तिहाईले पास हुनुपर्ने व्यवस्था छ।