PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​एसियन कपमा छनोट भएका महिला क्रिकेटरलाई जनही २५ हजार दिइने



पहिलोपोस्ट

​एसियन कपमा छनोट भएका महिला क्रिकेटरलाई जनही २५ हजार दिइने

काठमाडौं : हङकङमा सम्पन्न आईसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर क्रिकेट-२०१६ मा दोश्रो स्थान हात पार्दै महिला एसिया कपको लागि छनोट हुन सफल नेपाली महिला क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही नगद २५ हजार प्रदान गर्ने भएको छ।

बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा उपविजेता बन्दै महिला एसिया कपमा छनोट हुन सफल खेलाडीहरुलाई सम्मान गर्दै मन्त्रालयको तर्फबाट जनही नगद २५ हजार प्रदान गर्ने घोषण गरे। 

उनले परिषद्बाट निर्णय गरे पश्चात खेलाडीहरुलाई पुनः नगद राशीसहित सम्मान गर्ने भन्दै पहिलो चरणमा खेलाडीहरुको लागि प्रोत्साहन सम्मान भएको बताए। 

श्रीपालीले खेलाडीहरुलाई बधाई दिंदै एसियन क्रिकेट च्याम्पियनसिपमा समेत नेपाली चेलीहरुले विजय प्राप्त गर्नेमा आफु विश्वस्त भएको बताए। उनले खेलाडीहरुको जीवन विमा र स्वास्थ्य विमाको व्यवस्था समेत गर्नु पर्ने बताए।

यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली खेलकुदमा महिला खेलाडीहरुको उचाई बढ्दै गएको र विजयी खेलाडीहरुलाई परिषदको तर्फबाट नगद पुरस्कारसहित सम्मान गर्न आफुले पहल गर्ने बताए।

विजयी खेलाडीहरुको तर्फबाट बोल्दै नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले खेलाडीहरुको मनोवल उकास्न मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सबै तर्फबाट सहयोग र प्रोत्साहन हुनु पर्ने बताईन्।

नेपाली टोलीका प्रशिक्षक राजु बस्नेतले छोटो समयमा खेलाडी छनोट लगायत सम्पूर्ण व्यवस्थापन गर्नुका बाबजुद खेलाडीहरुले प्राप्त गरेको नतिजा प्रति आफु सन्तुष्ट रहेको भन्दै नेपाली खेलाडीहरुमा क्षमताको कमी नभएको तर एक्सपोजरको कमीका कारण खेलाडीहरुमा आत्मविश्वास कमी भएको बताए।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको हो। डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले खेलेका ६ खेल मध्ये नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell