PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

तमलोपाले माग्यो सरकारको धारणा



पहिलोपोस्ट

काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ।
   
तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति  ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ।
   
तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवम् जिल्ला अध्यक्षको संयुक्त बैठकले सरकारले अविलम्ब मोर्चासमक्ष आफ्नो धारणा स्पष्ट गरी संविधान संशोधनको प्रक्रिया प्रारम्भ गर्न जोडदार माग गरेको हो।
   
बैठकको निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै तमलोपाले प्रस्तावित सङ्घीय प्रदेश संरचनामा प्रस्तावित स्थानीय तहको मधेसमा न्यून सङ्ख्या एवम् प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता हो भन्दै यस्तो निर्णय आफूलाई कदापि मान्य नहुने जनाएको छ।
   
बैठकले पार्टीको वर्तमान स्थितिबारे अवगत गराउन र नयाँ ऊर्जाका साथ सम्पूर्ण स्थितिको सामना गर्न गाउँगाउँमा व्यापक सदस्यता वितरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
   
पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले सत्तारुढ दलले विभिन्न बहानामा संविधान संशोधनको विषय अलमल्याउँदै गएकाले संविधान संशोधन नभएसम्म आफ्ना विरोधका कार्यक्रम जारी रहने बताए।
   
फरक प्रसङ्गमा अध्यक्ष ठाकुरले सद्भावना पार्टीसँगको एकताबारे कुराकानी चलिरहे पनि कुनै निर्णय नभएको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell