काठमाडौं : सर्वोच्च अदालतले आफ्नो योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको लागि निस्सा दिएपछि प्रक्रिया छल्न विदेश गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन्।
भदौ ३१ मा अदालतले पुनरावलोकनको आदेश दिएपछि तामेलीको म्याद जारी गर्न अगावै हतार हतार असोज ३ मा कार्की क्यानडा गएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनका लागि भन्दै १० दिनको बिदा लिएर गएका कार्की एक महिनापछि फर्केका हुन्।
सम्मेलनका लागि क्यानडा गएको भने पनि उनले त्यहाँका दुई जना अधिकारीसँग भेट गरेको विवरण मात्र ट्विटरमा अपडेट गरेका थिए। आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमा राख्ने कार्कीले कुनै सम्मेलन वा समारोहमा भाग लिएको जानकारी भने राखेका थिएनन्।
अदालतले उनको घर भएको काठमाडौँ महानगरपालिका वडा नम्बर १० का सचिवको रोहवरमा म्याद तामेली गरेपछि उनी फर्किएका हुन्। क्यानडाबाट केही समयदेखि उनी दुबइ आएर बसेका थिए।
बुधबार साँझ आठ बजे इत्तेहाद एयरवेजको उडानमा उनी काठमाडौं ओर्लिएका हुन्। उनी त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिएका थिए। कार्की आउनेबारे त्रिभुवन विमानस्थल प्रशासनले गोप्य राखेको थियो भने भिआइपी कक्ष समेत बन्द राखेको थियो।
इत्तेहाद एयरवेज अवतरणपछि एकाएक भिआइपी कक्ष खोलिएको थियो। भिआइपी कक्ष हुँदै आएका कार्कीको अनुहार मलिन थियो। उनलाई लिन छोरी विमानस्थल पुगेकी थिइन्। उनलाई लिन उनी नियमित चढ्ने अख्तियारको गाडी पनि विमानस्थल पुगेको थियो। उनको पछुवा हिँड्ने नेपाल प्रहरीको गाडी पनि साथै थियो।