PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​च्याम्पियन्स लिग : मेसीको ह्याट्रिक मद्दतमा बार्साको शानदार जित, ब्राभोलाई रातो कार्ड



पहिलोपोस्ट

​च्याम्पियन्स लिग : मेसीको ह्याट्रिक मद्दतमा बार्साको शानदार जित, ब्राभोलाई रातो कार्ड

निकै उतारचढाव देखिएको युरोपियन च्याम्पियन्स लिगको गएराति भएको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि स्पानिस जायन्ट बार्सिलोनाले इंगलिस क्लब म्यानचेष्टर सिटीलाई ४-० ले पराजित गरेको छ। समूह सी को खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए।

प्रशिक्षक पेप गोर्डिओलाको लागि आफ्नो पूर्व क्लब विरुद्धको खेल फेरि एक पटक बिर्सनलायक रह्यो। यस्तै बार्सिलोनाकै पूर्व गोलरक्षक क्लाडियो ब्राभाले सिधै रातो कार्ड सामना गरे। 

यस सिजन प्रिमियर लिगमा सिटीका लागि गोल गरिरहेका स्टार स्ट्राइकर सर्जियो अगुएरो पहिलो रोजाईमा नपर्नु, बार्सिलोलाका वैकल्पिक खेलाडी जेरेमी म्याथ्युले दोहोरो पहेँलो कार्ड पाउनु, नेमारले पेनाल्टी मिस गर्नु खेलका मुख्य विषय बने।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा १७ औं मिनेटमै आफ्ना पूर्व सहकर्मी ब्राभो विरुद्ध गोल गर्दै मेसीले बार्सिलोनालाई अग्रता दिलाए। 
एक गोल खाएर पनि पहिलो हाफमा बार्सिलोनालाई सिटीले टक्कर दिए पनि ५३ औं मिनेटमा गोलरक्षक ब्राभोले डि एरियाबाहिर बल समाएको भन्दै उनलाई रेफ्रिले सिधै रातो कार्ड देखाएपछि सिटीलाई झड्का लाग्यो। 

त्यसैको फाइदा उठाउँदै मेसीले वैकल्पिक गोलरक्षकको रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनाकै विलफ्रेडो कावालेरोलाई लगातार २ गोल गरे। ६१ औं मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल गरेका मेसीले ६९ औं मिनेटमा ह्याट्रिक गरे।

७१ औं र ७३ औं मिनेटमा डिफेन्डर जेरेमी म्याथ्युले पहेँलो कार्डको सामना गरेपछि बार्सिलोना पनि १० खेलाडीमा झर्‍यो। 

त्यसका बाबजुत पनि बार्सिलोनाले गोल थप्यो। बार्सिलोनाका लागि खेल सकिन एक मिनेटअगाडि नेमारले चौथो गोल गरे। नेमारले नै ८७ औं मिनेटमा प्राप्त पेनाल्टी भने गोलरक्षकले सेभ गरेका थिए।

समूहमा लगातार तेस्रो जितसँगै बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा छ।  यता सिटी भने ३ खेलमा मिश्रित नतिजा निकाल्दै ४ अंकका साथ समूहको दोस्रो स्थानमा छ।

यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकले स्कटिस क्लब सेल्टिकलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ। उसलाई ३ अंक दिलाउन लार्स स्टिनड्ल र हान्द्रे हाहनले १/१ गोल गरे।

बार्सिलोनाले शानदार जित हात पारेको दिन अर्को स्पानिस क्लब एथ्लेटिको मड्रिडले रसियन क्लब रोस्तोमलाई १-० ले हरायो। समूह डीमा एथ्लेटिकोलाई जित दिलाउन यानिक कारास्कोले निर्णायक गोल गरे।

समूह डी कै अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले डच क्लब पिएसभी आइन्डभोवनलाई ४-१ ले हरायो। वायर्नको जितमा थोमस मुलर, जोसुअ किम्मिच, रोवर्ट लेवान्डास्की र आर्जेन रोवनले १/१ गोल गरे।

समूह् डीमा शतप्रतिशत जित निकालेको एथ्लेटिको ३ खेलबाट ९ अंक सहित शीर्ष स्थानमा छ। ६ अंक जोडेको वायर्न भने दोस्रो स्थानमा छ।

यता सिटी हार्दा अर्को इंगलिस क्लब आर्सनलले शानदार जित हासिल गरेको छ। मेसुट ओजिलले दोस्रो हाफमा गरेको ह्याट्रिकको मद्दतमा आर्सनलले समूह् ए को खेलमा लुडोगोरेट्स राजगार्डलाई ६-० ले हरायो। 

एलेक्सिस सान्चेज र थियो वाल्कोटले गोल गर्दै पहिलो हाफमै आर्सनललाई २ गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै एलेकस ओलेइड च्याम्वरलाइनले गोल गर्दै आर्सनलको अग्रता तेब्बर पारेका थिए। त्यसपछि ओजिलले लगातार ३ गोल गरेपछि आर्सनलले फराकिलो अन्तरले जित हात पारेको हो।

समूह ए कै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले स्विस क्लब बासेललाई ३-० ले पराजित गर्‍यो। पिएसजीको जितमा एन्जल डि मारिया, लुकास मउरा र एडिनसन काभानीले १/१ गोल गरे।

समूह ए मा अपराजित आर्सनल र पिएसजीको ३ खेलपछि समान ७ अंक भएको छ। गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा छ।

यता समूह बी को खेलमा बेसिकटाससँग ३-२ ले पराजित हुनका बाबजुत पनि इटालियन क्लब नेपोली शीर्ष स्थानमा छ। ३ खेलबाट नेपोलीको ६ अंक छ भने पहिलो जित हात पारेको बेसिकटास ५ अंकसहित दोस्रो स्थानमा छ। समूह बी कै अर्को खेलमा वेनफिकाले डाइनामो किभलाई २-० ले पराजित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell