दमौली : डेढ वर्षअघि गएको भूकम्पमा परी पीडित भएका तनहुँका २ सय ८२ जनालाई ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ।
सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ ती व्यक्तिलाई वितरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलले बताए। २ सय ८१ जनालाई सामुदायिक वन उपभोक्ता समिति र एक जनालाई जिल्ला वन पैदावर आपूर्ति समितिले काठ वितरण गरेको हो।
दुई जना भूकम्पपीडितलाई चितवन, तीन जनालाई तनहुँमै र एक जनालाई काठमाडौँ काठ लैजानसमेत अनुमति दिइएको छ। वास्तविक भूकम्पपीडितलाई आवश्यक कागजात पेस गरेपछि त्यस्ता व्यक्तिलाई काठ वितरण गर्ने गरिएको छ। भूकम्पपीडितले घर बनाउन काठ पाउँदा निकै राहत मिलेको बताएका छन्।रासस