PahiloPost

May 25, 2024 | १२ जेठ २०८१

पर्सामा बढ्यो तस्करी, दिनहुँ लाखौं मूल्य बराबरको सामान बरामद



राधेश्याम पटेल

पर्सामा बढ्यो तस्करी, दिनहुँ लाखौं मूल्य बराबरको सामान बरामद

वीरगन्ज : दसैंलगतै पर्सामा भारतीय समान तस्करी गर्ने गिरोह थप सक्रिय भएका छन्। जसले गर्दा पर्सासँग जोडिएका सीमा नाकाबाट दिनहुँ तस्करी बढ्दै गएको छ।
 
भारतबाट सबैभन्दा बढी तस्करी हुने समान कपडा हो। त्यस्तै ,इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक समान मोबाइल लगायतका छन्। तस्करहरुले नेपालका सीमा नाका ठोरी, पिडारीगुठी, सेढवा, जानकीटोला, भिस्वा, सवैठवा, धोरे, अमरपट्टि, अलौ श्रीर्सिया, वीरगन्ज भन्सार क्षेत्र इनार्वा लगायतको ठाउँबाट दिनहुँ करौडौं मूल्यको सामान भन्सार छलेर नेपाल भित्र्याइरहेको पछिल्ला केही घटनाले पुष्टि गरेको छ।
 
एक सातायता पर्साको नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको कपडा, मोटरपार्ट्स तथा चाँदीको सिक्का बरामद गरेको छ। हिजै इलाका प्रहरी कार्यालय जानकीटोलाको टोलीले ना१त ६०१२ नंको ट्रयाक्टरमा धानको जुटको बोरामा भारतको इनार्व बजारबाट काठमाडौंका लागि ल्याउँदै गरेको ट्रयाक्टर र चालकलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ।
 
त्यस्तै वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले २ किलो चाँदीको अवैध सिक्का बरामद गरेको छ। रजतजयन्ती चोकमा चेकजाँच गर्दा एउटा साइकलबाट उक्त सिक्का बारामद गरेको हो। जसमा ९१ वटामा लक्ष्मी रगणेशको चित्र अंकित छ भने बाँकी विदेशी चाँदीका सिक्का हुन्। बरामद सिक्का आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार पठाइएको छ। तर प्रहरीले तस्करलाई समात्न सकेन।
 
यी त भए ठूला घटना। पर्सा प्रहरी स्रोतका अनुसार दिनहुँ भारतीय नाकाबाट कम्तीमा ५ लाखको समान बरामद भएकै हुन्छ। वीरगन्जमा भारतबाट कपडा ल्याएर बेच्दा ५० प्रतिशत नाफा हुने भएकोले पोके तस्कर मार्फत उक्त कपडा पर्सा भित्र्याइन्छ। अनि नाम चलेको व्यापारीहरुले देशको विभिन्न स्थानमा ती सामान वीरगन्जको पसलको नामबाट बिल बनाई पठाउने काम गर्छन्।
 
पर्सामा चाडबाडको मौकामा हरेक वर्ष तस्कर गिरोह थप सक्रिय हुने गरेको सर्वसधारण पनि बताउँछन्। सर्वसधारणले भने दुई हजारको समान पनि भन्सारका बाटो लिएर आउँदा प्रहरीले दुख दिने गरेको गुनासो गरेका छन्। तस्करी बढ्नुमा सीमा नाकामा खटेको प्रहरी सयन्त्रको पनि दोष रहेको स्थानीयको भनाइ छ।
 
तस्करसँग पैसा लिएर रुट खोलिएको छ। तर सर्वसधारणसँग भन्सार क्षेत्रमै २० रुपियाँदेखि २ सय रुपियाँसम्म नेपाल प्रहरी र सशस्त्रका जवानहरु रकम असुल्ने गरेको वीरगन्जका युवा कामेश्वर गुप्ताले बताए।
 
यस विषयमा पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले तस्करी न्युनीकरणको कारण खुल्ला सिमाना भएको बताए। तस्करी न्युनीकरण गर्न प्रयास गरिरहेको पर्सा प्रहरी बताउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell