लहान : सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस जुध्दा तीन जनाको मृत्यु भएको छ। घटनामा १३ यात्रु घाइते भएका छन्। मृत्यु हुनेहरुमा सबै बसमा सवार यात्रु हुन्।
काँकडभिट्टाबाट काठमाडौंका लागि हिँडेको ना ५ ख ४८८९ नम्बरको मकालु बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गको मिर्चैयामा राति २ बजे जुधेका थिए।
मृतकहरुमा पाँचथरको रवि–६ निवासी ३५ वर्षीया ननुका राई, भारतको सिक्किम गान्तोक निवासी ३३ वर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० वर्षीया बिन्दिया गुरुङ छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीण्क्षक श्यामसिंह चौधरीले बताए।
उक्त दुर्घटनामा काठमाडौंकी अनुका थापा, विरु खरेल, सोडिया थापा, सुमन, सर्डियस क्षेत्री, सरोज थापा, सङ्खुवासभाको धुपु–५ निवासी दिलु कलाखेती, इलामको आमचोक–३ निवासी कसिस क्षेत्री, पशुपतिनगर–५ निवासी लाक्पा तामाङ, बाराको सिमरा निवासी हिरा कार्की, अदिती कार्की, कृष्णबहादुर कार्की र पाँचथरको रवि–५ निवासी मनोज राई घाइते भएका छन्।
बसका चालक फरार छन्। ट्रक चालक मकवानपुर हेटौंडा–३ निवासी फडेन्द्र राजपुरी भने इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा छन्।