PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कहाँ बेपत्ता भए नोबेल पुरस्कार विजेता बब डाइलन? हप्ता दिनदेखि सम्पर्कविहीन



पहिलोपोस्ट

कहाँ बेपत्ता भए नोबेल पुरस्कार विजेता बब डाइलन? हप्ता दिनदेखि सम्पर्कविहीन

स्टकहोम (स्वीडेन) : यस वर्षको साहित्य विधातर्फ नोबेल पुरस्कार विजेता बब डाइलन करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन्।

नोबेल पुरस्कार समितिले यी अमेरिकी स्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ।
 
स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्वीडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले भनिन्, 'अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौं। बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनुभएको तर, बबसँग हालसम्म सम्पर्क नै कायम भएन।'
 
स्वीडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उनी सम्पर्क गर्ने प्रयास हिजोदेखि त्यागेको सीएनएन टेलिभिजनलाई बताए।
 
गत बिहीबार राति साहित्य बिधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नमा ब्यस्त थिए। तर कार्यक्रमभर उनले पुरस्कार प्रदान गरिएकोबारे एक शब्द पनि उच्चारण गरेनन्। त्यस्तै भोलिपल्ट शुक्रबार उनले अमेरिकाकै कोआचेला नगरमा अर्को साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
 
त्यहाँ पनि उनले पुरस्कार प्रदान गरिएकोबारे कुरै उठाएनन्। बरु, त्यही मञ्चमा अर्को ब्याण्डका मित्रहरूले उनलाई बधाई दिँदै उनको अतुलनीय उपलब्धिबारे निकैबेर चर्चा र प्रशंसा गरे, तर उनी भने निशब्द मौन बसे।
 
नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उनको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ।
 
'केही छैन, उहाँलाई आउन मन नलागे नआउनु भए पनि हुन्छ, तर हामी सदैव उहाँलाई सम्मान गर्न भने चुक्दैनौंं,' सचिव डेनियस भन्छिन्। सन् १९४१ मे २४ का दिन डुलुथ, माइनसोटामा जन्मिएका ७५ वर्षीय डाइलान एक उत्पादनशील सङ्गीतज्ञ हुन्।
 
उनले सङ्गीत विधामा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्। सन् २०१२ को मे २९ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा ह्वाइट हाउसमा प्रदान गरिएको 'प्रेसिडेन्सियल मेडल अफ फ्रिडम" तक्माबाट उनी विभूषित समेत भइसकेका छन्।
 
अमेरिकी नागरिकलाई प्रदान गरिने उत्कृष्ट सम्मानमध्ये यस तक्माको नाम अग्रस्थानमा आउँछ। राष्ट्रपति ओबामा स्वयं आफू पनि डाइलानको एक फ्यान भन्न रुचाउँछन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell