PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

संसद बैठक आइतबारसम्मका लागि स्थगित, सभामुखले रद्द गरिन् जेनेभा भ्रमण



पहिलोपोस्ट

संसद बैठक आइतबारसम्मका लागि स्थगित, सभामुखले रद्द गरिन् जेनेभा भ्रमण

काठमाडौं : व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
 
आज संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि हिजो दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। कांग्रेस लगायत प्रमुख दलहरुसँग छलफल गर्नुपरेकाले बैठक स्थगित गरिएको सभामुख निकट स्रोतले जनाएको छ। प्रधानमन्त्रीमार्फत शीर्ष नेताहरुको आग्रहमा सभामुखले बैठक तीन दिनका लागि सारेकी हुन्। प्रस्तावका विषयमा दलहरुसँग थप छलफल गर्नुपर्ने समय माग गर्दै प्रधानमन्त्रीले सभामुखलाई बैठक स्थगित गर्न आग्रह गरेका थिए।
 
संसदको कार्यसञ्चालन नियमावली २०७३ मा संसद अधिवेशन चलिरहेका बेला संवैधानिक निकायका प्रमुख तथा सदस्यलाई महाअभियोग लगाउन कूल सांसदको एक चौथाई सांसदले सूचना दर्ता गरे सूचना दर्ता भएको एक साताभित्र संसदमा छलफल गर्नुपर्ने व्यवस्था छ। संसदमा भएको छलफललाई प्रस्तावका रुपमा महाअभियोग सिफारिश समितिमा लगिनेछ। सिफारिश समितिले प्रस्तावमा अध्ययन गरेपछि फेरि त्यसलाई संसदमा पेश गर्ने र संसदमा छलफलपछि निर्णयार्थ पेश गर्ने व्यवस्था छ।
 
बैठक स्थगित भएपछि लोकमानविरुद्धको महाभियोग प्रस्ताव आज संसदमा पेश हुन सकेन।

संसदमा भएका कूल सांसदमध्ये दुई तिहाई सांसदले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरे महाअभियोग सिफारिश गरिएका व्यक्ति पदमुक्त हुने व्यवस्था संविधानमा छ। संसदमा अहिले ५९५ जना सांसद छन्। महाअभियोग प्रस्ताव पारित गर्न ३९७ जना सांसदको मत
आवश्यक रहन्छ। हिजो एमाले र माओवादी केन्द्रका गरी १५७ सांसदले कार्कीविरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्।


सभामुखको स्विटजरल्यान्ड भ्रमण स्थगित

संसदमा देखापरेको पछिल्लो घटनाक्रमका कारण सभामुख ओनसरी घर्तीले आफ्नो स्विटजरल्यान्ड भ्रमण स्थगित गरेकी छिन्।

स्विटजरल्यान्डको जेनेभामा हुने कार्यक्रमका लागि उनी भोलि त्यसतर्फ जाने कार्यक्रम थियो। उनीसँगै १०/१२ जना सांसद पनि एक साताका लागि जाने तयारी थियो।

संसदमा अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा छलफल गर्नुपर्ने भएकाले पनि उनले भ्रमण रद्द गरेकी हुन्। 'आज छलफल सुरु भएको भए भोलि उहाँ जाने तयारीमा थियो,' स्रोतले भन्यो, 'संसद स्थगित भएपछि उहाँले भ्रमण पनि रद्द गर्नुभयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell