PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

लोकमान महाअभियोग प्रकरण : नेपाली कांग्रेसको समर्थन कि विरोध?



रमेश वाग्ले

लोकमान महाअभियोग प्रकरण : नेपाली कांग्रेसको समर्थन कि विरोध?

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रका सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि यति बेला सबैको नजर नेपाली कांग्रेसतर्फ फर्किएको छ।
 
संविधानको प्रवधानअनुसार संसदमा महाअभियोगको प्रस्ताव पारित हुन दुई तिहाइ मत जरुरी हुन्छ। संसद्को एक तिहाइभन्दा बढी मत नेपाली कांग्रेससँग छ। त्यसैले महाअभियोग प्रस्ताव सफल वा असफल हुने भन्नेमा संसदमा कांग्रेस नै  निर्णायक शक्ति हो।
 

के गर्छ कांग्रेस?

करिब दुई महिनाअघि संसदमा दर्ता भएको लोकमानलाई महाअभियोग लगाउने लगायतका विषयमा सत्याग्रही डाक्टर गोविन्द केसीले राखेका मागका विषयमा छलफल गराउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तीनमध्ये दुई जना नेपाली कांग्रेसका सांसद थिए। प्रस्तावक सांसद गगन थापा स्वास्थ्य मन्त्री भएपछि यो प्रस्ताव तुहिएको थियो। त्यसका समर्थक मध्येका एक नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भने कांग्रेस महाअभियोग प्रस्तावका पक्षमा उभिने बताए।
 
'महाअभियोग प्रस्ताव कांग्रेससँग छलफल भएर आयो कि आएन उचित प्रक्रिया अवलम्बन भयो कि भएन त्यो दोस्रो कुरा हो,' कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद गुरुङले भने, 'तर उनी महाअभियोगका लागि उचित पात्र हुन् र नेपाली कांग्रेस प्रस्तावको पक्षमा उभिन्छ। उभिन पर्छ।' उनले नेपाली कांग्रेस इतिहासदेखि नै अन्यायका विरुद्धमा उभिएको पार्टी भन्दै लोकमानजस्ता व्यक्तिलाई समर्थन गर्न नसक्ने बताए।
 
कांग्रेसकै प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भने कांग्रेसले तत्काल यस विषयमा धारणा बनाइनसकेको बताए। 'अहिले नै हामीले यस विषयमा धारणा बनाइसकेको छैन,' कांग्रेस प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य श्रेष्ठले भने, 'यो हतार गरेर भन्दा पनि विचार विमर्श गरेर निर्णयमा पुग्ने कुरा हो।' उनले महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि कांग्रेससँग सल्लाह नभएको बताए।
 
नेपाली कांग्रेसको आज नै केन्द्रीय समिति बैठक पनि बस्दैछ। केन्द्रीय समिति बैठक डाकेर एजेण्डा बनाउँदासम्म यो विषय परेको छैन। हिजो मात्र महाअभियोग प्रस्ताव दर्ता भएकाले केन्द्रीय समिति बैठकको एजेण्डामा नराखिए पनि छलफलको विषय बन्नेमा दुईमत छैन।
 
केन्द्रीय सदस्य गुरुङले केन्द्रीय समितिमा प्राथमिकतासाथ छलफल हुने र निर्णय गर्ने बताए। तर एक केन्द्रीय सदस्यले भने छलफल विविध एजेण्डा अन्तर्गत भए पनि कांग्रेसँग परामर्श नगरिएको र अदालतले एउटा प्रक्रिया अघि बढइरहेका बेला महाअभियोग प्रस्ताव दर्ता भएकाले कांग्रेसले हतारमा निर्णय नगर्ने बताए।
 
'लोकमानको मुद्दा अहिले अदालतमा विचाराधीन छ। अदालतले पनि केही न केही फैसला गर्ने नै छ,' ती केन्द्रीय सदस्यले भने, 'अहिले महाअभियोग लगाउँदा आधार के हुने? उनले हात हाल्नु नपर्ने विषयमा हात हाले भन्ने हो कि? गोविन्द केसीको मागअनुसार भन्ने हो कि के भनेर कारबाही गर्ने?'
 
ती केन्द्रीय सदस्यले नेपाली कांग्रेस नेपालकै पुरानो र परिपक्व पार्टी भएको भन्दै हौवाकै भरमा निर्णयमा नपुग्ने जिकिर गरे।
 
केन्द्रीय सदस्य गुरुङले भने लोकमानलाई महाअभियोग लगाउनका लागि संविधानको धारा १०१ ले गरेका सबै प्रावधान अनुसारका आधारहरु रहेको बताए। 'चाहे गणेश थापाको भ्रष्टाचारको फाइल लुकाएको विषय होस् वा गोगर्ण रिसोर्टको शेयर हस्तान्तरणको विषय। उनले पदीय मर्यादाविपरीत काम गरेका छन्,' गुरुङले भने, 'संसद्को सार्वभौम सार्वजनिक लेखा समितिको निर्देशनविपरीत उनले गणेश थापाको भ्रष्टाचारको फाइल लुकाएका छन्।'
 
लोकमानले संविधानको धारा १०१ ले गरेका पदीय जिम्मेवारी पूरा नगरेको, व्यक्तिगत आचरण ठिक नभएको र खराब नियत भएको लगायतका सबै आधार उनलाई महाअभियोगका लागि आधार हुने गुरुङको भनाइ छ।
 
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजै बिहान ११ बजेका लागि डाकिए पनि कारण नखुलाईकन दिउँसो २ बजेका लागि सारिएको छ।
 
कांग्रेसको समर्थन वा विरोधले महाअभियोग प्रस्तावबाट लोकमान अख्तियार प्रमुखबाट हट्ने वा रहने भन्ने निश्चित हुन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell