PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वर्तमान राजनीतिप्रति असन्तुष्ट पूर्वराजाको उद्घोष- 'अब सोच्ने बेला आएको छ'



सविन ढकाल

वर्तमान राजनीतिप्रति असन्तुष्ट पूर्वराजाको उद्घोष- 'अब सोच्ने बेला आएको छ'

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवहारमा निषेधको राजनीतिले राष्ट्रमा असन्तुलन निम्त्याउने बताएका छन्।
 
अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई आज काठमाडौंको वनकालीमा सम्बोधन गर्दै पूर्वराजा शाहले राजनीतिक असन्तुलनले राज्यमा विद्रोह जन्मन सक्ने बताए। 'असन्तुलनले उपेक्षा जन्माउँछ। उपेक्षाले जनतामा विद्रोह जन्माउँछ,' उलने भने।
 
देशमा गणतन्त्र स्थापनामा भएपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गरेका पूर्वराजा शाहले अहिले हिन्दु धर्म, नेपाली संस्कृति, कला, सम्पदा र पहिचानमाथि एक किसिमको कालो बादल मडारिएको समेत बताए। धर्म, संस्कृति र सम्पदा देशको धरोहर र गहना भएकाले सबै नेपाली एकबद्ध भएर यसको रक्षाको लागि लाग्नुपर्नेमा समेत उनले जोड दिए।
 
सम्बोधनमा शाहले अहिलेको राजनीतिक अवस्थाबारे समेत असन्तुष्ट व्यक्त गरेका छन्। 'अहिलेसम्म कुनै कुरामा पराजित नभएको नेपालको सहिष्णुता, एकता, राष्ट्रियतामा राजनीतिक अस्थिरताका कारण नै बाह्य हस्तक्षेप बढेको छ,' उनले भने, 'राजनीतिक कारणले आज हामी कुन अवस्थामा छौं भनी सोच्ने बेला आएको छ।'
 
जनतामा छाएको चरम निराशा आफ्ना लागि अभिशाप भएको पनि उनले बताए। 'गन्तव्यहीन यात्रा हाम्रा लागि अभिशाप भएका छन्। अहिले देखिएको अवस्थालाई रोक्न सबै एक भएर लाग्नुपर्छ,' पूर्वराजा शाहले भने।
 
कार्यक्रममा सहभागी अन्य धर्मगुरुहरुले पनि नेपालको पहिचानको लागि हिन्दु राष्ट्र नेपालको लागि अपरिहार्य भएको बताएका थिए। सम्मेलन भोलिसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell