
काठमाडौं : रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएको खेलमा शंखमुल फुटसलले जित हात पारेको छ भने चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन्।
होम ग्राउन्डमा भएको खेलमा शंखमुलले अवे टिम सामाजिक फुटसललाई ७–४ गोल अन्तरले पराजित गर्यो। प्रतिस्पर्धात्मक खेलमा शंखमुललाई जिताउन शेरबहादुर थापा मगर र सुरज महर्जनले २-२ गोल गरे भने सञ्जोग राईले एक गोल गरे। शंखमुलले अर्को एक गोल आत्मघाती उपहारको रुपमा पायो। सामाजिक फुटसलका लागि सन्दिप थापाले २ गोल गरे भने सुवास बानियाँ र सन्तोष तामाङले १/१ गोल गरे पनि आफ्नो टिमलाई विजयी बनाउन सकेनन्।
शंखमुल फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सुरज महर्जन खेलको म्यान अफ द म्याच घोषित भए।
अर्को खेलमा होम टिम चउरले अवे टिम ह्वाइट हर्स फुटसलसँग २–२ गोलको बराबरी खेल्यो। प्रतिस्पर्धात्मक खेलमा चउरका रमेश गुरुङ र रोचक गुरुङले १/१ गोल गरे भने ह्वाइट हर्सका मनोज प्रजापतीले २ गोल गरे। यस खेलको म्यान अफ द म्याचको पुरस्कार ह्वाइट हर्स फुटसलका मनोज प्रजापती घोषित भए।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ।