PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अख्तियारका पछिल्ला काम शाही आयोगजस्तो : कांग्रेस सभापति देउवा



रमेश वाग्ले

अख्तियारका पछिल्ला काम शाही आयोगजस्तो : कांग्रेस सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्ला दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कारबाहीले शाही आयोगको झल्को दिएको टिप्पणी गरेका छन्।

‘यसलाई एउटा निचोडमा पुर्‍याउने नै हो,’ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले भने, ‘तपाईँहरु यसमा खुलेर धारणा राख्‍नुस्। हामी संसदीय दलको बैठकबाट लिनुपर्ने निर्णयमा पुग्छौं।‘

आजको बैठकलाई टुङ्ग्याउनेक्रममा शेरबहादुर देउवाले यस्तो धारणा राखेको केन्द्रीय सदस्य गगन थापाले जानकारी गराए। उनले भने, 'पार्टी सभापतिज्यूको यो सम्बोधन नै महाभियोगका लागि काफी छ।'

 
सत्ता गठबन्धनमा हिसाब राख्नुपर्छ : गगन थापा

बैठकपछि जानकारी दिँदै स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति गर्नु राजनीतिक अपराध रहेको बताए।

‘त्यो भन्दा ठूला गल्ती लोकमानको कदमले देखाएको छ,’ थापाले भने, ‘अहिले प्रकृया ठीक भयो भएन बहस गर्दै गरौला। सत्ता गठबन्धनबाट राजनीतिक इमान्दारिता पालन भयो भएन भन्ने हिसाब पनि राख्नुपर्छ। यसको मतलब महाअभियोको विपक्षमा उभिने भन्ने होइन।‘


सर्वसम्मतमै महाभियोग ल्याउन सकिन्थ्यो : विमलेन्द्र 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले लोकमान सिंह कार्कीविरुद्ध महाभियोग सर्वसम्मतमै ल्याउन सकिने बताए। तर, कांग्रेससँग छलफल नै नगरी प्रस्ताव दर्ता गरेकाले संशय प्रकट भएको उनले बताए। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा उनले 'पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसहितको छलफलमा प्रधानमन्त्रीले महाभियोग ल्याउने विषय इन्कार गरेको' सुनाए। उनले भने, ‘इन्कार गरेको केही समयमै प्रस्ताव दर्ता भयो। यसले शंका जन्माएको छ।’

महाभियोग प्रस्ताव ल्याउन आफूसँग कुनै छलफल नगरेको बताउँदै त्यसले संशय पैदा गरेको बताए। उनको भनाइलाई साथ दिँदै निधिले सत्ता साझेदार दलसँग नै सल्लाह नगरी प्रस्ताव दर्ता भएको बताए।

नेपाली कांग्रेसका नेताहरुले लोकमान सिंह कार्कीविरुद्धको महाभियोगको पक्षमा उभिनुपर्ने तर्क अघि सारेका थिए। कुनै ठोस निर्णय नगरे पनि लोकमान विरुद्धको महाभियोगको पक्षमा उभिने तर सत्ता गठबन्धनमा प्रस्टता हुनुपर्ने पक्षमा मत देखिएको बैठकपछि नेता दीलेन्द्र बडूले ब्रिफ गरे।

बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell