PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

लोकमान महाभियोगबारे कांग्रेस नेता घिमिरे भन्छन्- 'एमाले-माओवादीको साक्षी बन्न सकिन्न'



रमेश वाग्ले

लोकमान महाभियोगबारे कांग्रेस नेता घिमिरे भन्छन्- 'एमाले-माओवादीको साक्षी बन्न सकिन्न'

काठमाडौं : एमाले-माओवादी सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्टदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा यही विषयमाथि तर्क-वितर्क चलिरहेको छ।
 
केन्द्रीय सदस्यहरुलाई सभापति शेरबहादुर देउवाले खुलेर आफ्ना विचार राख्न आग्रह गरेका कारण केन्द्रीय सदस्यहरुले थरीथरी तर्क गरिरहेका छन्।
 
यही क्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुभन्दा फरक तर्क राख्दै लोकमान कारबाहीको लायक नै देखिए पनि एमाले-माओवादीको साक्षी बनेर महाअभियोगको पक्षमा उभिन नहुने बताएका छन्। 'एमाले-माओवादीले लोकमानका गल्तीका कारण मात्र नभएर आफूविरुद्ध हुन लागेको छानबिन रोक्न हतारमा महाअभियोग प्रस्ताव दर्ता गरेको देखिन्छ,' घिमिरेले भने, 'कांग्रेसका खुमबहादुर र चिरञ्जीवीले जेल सजाय भुक्तान गर्न हुने जेपी गुप्ताले मन्त्री बहाल रहेकै बेला जेल जान हुने तर एमाले-माओवादीमाथि छानबिन हुन पनि नहुने? के लोकमानलाई एमाले-माओवादी वा कांग्रेसका नेतामाथि छानबिन नगर्नेगरी नियुक्त गरिएको हो?'
 
उनले आफ्नो आशय लोकमानलाई चलाउनै हुँदैन भन्ने नरहेको भन्दै उनलाई संसद्ले छानबिन गर्न सक्ने भन्दै छानबिनपछि दोषी भेटिए दोषअनुरुपको सजाय दिनुपर्ने बताए।  'उनले पदीय मर्यादाविपरीत काम गरेका हुन् भने छानबिन गरेर हरेक कामको सजाय तोक्न आवश्यक छ,' घिमिरेले भने, 'तर अहिले आफूमाथि छानबिन हुने डरबाट हतारोमा एमाले-माओवादीले दर्ता गरेको प्रस्तावमा कांग्रेसले अन्धो समर्थन गर्नु हुँदैन।'
 
उनले कांग्रेस राणा र राजा हटाउनेदेखि पञ्चायत ढालेर संविधानसभाबाट संविधान जारी गर्ने सबै प्रक्रियाको नेतृत्व गरेको कांग्रेस एमाले-माओवादीको जालसाजीको मतियार बन्न नहुने बताए। 'नेपाली कांग्रेस इतिहासदेखि नेपाली राजनीतिको नेतृत्व गरिरहेको पार्टी हो। यसले सत्यको पक्षमा उभिएर कहिलै हार बेहोरेको छैन,' उनले भने, 'त्यसैले एमाले-माओवादीले आफ्ना गल्तीढाक्न मात्र हतारोमा दर्ता गरेको महाअभियोग प्रस्तावमा हतारिएर समर्थन गर्न आवश्यक छैन।' उनले जनमत कार्कीलाई कारबाही होस् भन्ने पक्षमा रहे पनि कार्कीले छानबिन गर्न लागेकाहरु आत्तिएर कारबाही हुन लागेको बारे जानकार नरहेको बताए। 'जनताले गलत प्रवृत्तिका नेताहरुले जोगिन उनलाई कारबाही गरेको थाहा पाए भने पुनः उनीहरु हाम्रोविरुद्ध खनिन सक्छन्। त्यसतर्फ सचेत हुन आवश्यक छ,' घिमिरेले भने।
 
'अख्तियार प्रमुखको रुपमा लोकमानले गरेका काम कारबाहीको छानविन पछि मात्र उनलाई के कारबाही गर्ने निस्कर्षमा पुग्नुपर्छ,' केन्द्रीय सदस्य घिमिरेले भने , 'अहिले महाभियोग प्रस्ताव एमाले र माओवादीका नेताले आफूविरुद्ध हुन लागेको छानबिनबाट डराएर हतारमा दर्ता गरेकाले कांग्रेसले उनीहरुको सहयोगीको रुपमा मात्र समर्थनमा उभिनुहुँदैन।' उनले अदालती प्रक्रिया एउटा चरणमा पुगेका बेला एमाले र माओओवादी नेताबाट देखिएको हतारो र कांग्रेसलाई गरिएको 'बाइपास' स्वभाविक नभएको बताए।
 
अख्तियार प्रमुख कार्कीलाई संसदमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै बिहीबारदेखि नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ। बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले महाअभियोग उच्चारण नै नगरी पन्साइदिएका छन् भने रामशरण महतले कार्कीको बचाउ गरेका छन्। केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सभापतिको धारणा पहिले प्रस्तुत गर्न भन्दै आफ्नो धारणा बाहिर ल्याएका छैनन्। केन्द्रीय सदस्य रामकृष्ण यादवले महाअभियोग उच्चारण गरे पनि त्यसमा आफ्नो धारणा राखेका छैनन्।
 
केन्द्रीय सदस्यहरु विश्वप्रकाश शर्मा र गगन थापाले महाअभियोग प्रस्तावको समर्थन मात्र हैन लोकमानलाई महभियोगलगाएर पदबाट हटाउने कामको नेतृत्व नै कांग्रेसले लिनुपर्ने बताएका छन्। उपप्रधानमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले महाअभियोग प्रस्ताव शंकास्पद ढंगले आएको भन्दै त्यसको राजनीतिक रुपमा विश्लेषण आवस्यक रहेको बताएका छन्।
 
सभापति देउवाले महाअभियोग प्रस्ताव आउँदैछ भनेर समेत जानकारी नदिई अप्रत्यासित रुपमा आएको भन्दै राजनीतिक व्याख्या विश्लेषण र समीक्षा हुने बताए। उनले लोकमान नेतृत्वमा गएपछि अख्तियारका कामकारबाही निरंकुश राजाकालीन शाही आयोगको जस्तो भएको भन्दै उनलाई कारबाही गर्ने विषयमा दुई मत नभएको बताएका छन्। तर उनले महाअभियोग प्रस्ताव दर्ताकोको शैलीबारे भने आफू सन्तुष्ट नभएको संकेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell