PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

सार्कका लोगो डिजाइनर शैलेन्द्र महर्जनको नेपालमा पहिलो एकल चित्रकला प्रदर्शनी



पहिलोपोस्ट

 ललितपुर : झन्डै तीन दशक फ्रान्समा रहेर चित्रकलामा सक्रिय कलाकार शैलेन्द्र महर्जनको नेपालमा पहिलो एकल चित्रकला प्रदर्शनी बुधबार सुरु भएको छ।
 
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को लोगोसमेत तयार पारेका महर्जनको फ्रान्समा १० भन्दा बढी एकल प्रदर्शनी भइसकेको छ। कला अध्ययन र कलाकारिताका क्रममा उनी २७ वर्ष फ्रान्स बसेका थए। स्वदेशमा पहिलोपटक प्रदर्शनी गर्न लागेकाले आफू उत्साहित भएको कलाकार महर्जनले बताए। प्रदर्शनीमा राखिएका कुनै पनि सृजना बिक्रीका लागि नभएको पनि उनले बताए। उनले भने, 'विदेशमा बिक्री गरिरहे पनि यहाँ नबेच्ने योजना छ।'
 
लामो समयसम्म विकसित मुलुक बसेर आएपनि कलाकारको कुनै पनि सृजनामा आधुनिकता पाइँदैन। मौलिक नेपालीपन उनको विशेषता भएको प्रदर्शनीमा रहेको सृजनामा देख्न पाइन्छ। मौलिक नेपाली जनजीवन, यहाँको संस्कृति, रीतिरिवाज उनका सृजनामा रहेका छन्। आफू फ्रान्समा बस्दासमेत नेपालमा प्रदर्शन गर्न चाहेको उनले दर्शकसँग बताए। उनले भने, 'अहिले समय मिल्यो र प्रदर्शनी गर्दैछु।' विदेशमा बस्ने नेपालीको स्वदेशप्रतिको आस्था र प्रेम उनको चित्रबाट सहजै बुझ्न सकिन्छ।
 
पाटन म्युजियममा बुधबार र विहिबार भएको र शनिवार आर्ट काउन्सिल, बबरमहलमा हुने भनिएको प्रदर्शनीमा राखिएकामध्ये धेरै चित्रले परिवर्तित सामाजिक परिवेशमा नेपाली जीवन पद्धतिको महत्वलाई सहजरुपमा प्रस्तुत गरेका छन्। तैल चित्रमा सृजना, सन्तोष, आनन्द लगायतका शीर्षकमा सृजना राखिएका छन्। यीनले वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गरेका छन्। गत वर्षको भूकम्पमा नास भएका सम्पदासमेत पानीचित्रमार्फत कलाकारले पुरानो झल्को दिएका छन्।
 
आफ्नो लामो समयदेखिको सपना पूरा भएको महर्जनले बताए। 'अहिले सबै कुरा अनुकूल हुँदा मेरो इच्छा पूरा भएको छ।' आफू सानैदेखि कलामा सौखिन भएको उनी बताउँछन्। अहिलेको प्रदर्शनी आफ्नो ‘ग्याप’ (अनुपस्थिति) हटाउनका लागि भएको पनि उहाँ बताउनुहुन्छ। २०४४ सालमा सार्कमा आबद्ध सात मुलुकका कलाकारबीच भएको प्रदर्शनीमा प्रथम भएर उनको हाल प्रचलित सार्कको लोगो छनोट भएको थियो।
 
नेपालका धेरै सङ्घसंस्थाले अहिले पनि उनैले बनाएको लोगो प्रयोग गर्दै आएका छन्। उनले गोरखा दक्षिणबाहु चौथो, युवा पुरस्कार लगायतका पुरस्कार पाइसकेका छन्। कलाकार महर्जनले तीन दशकपहिले नेपाल सरकार र फ्रान्स सरकारको छात्रवृत्तिमा पेरिसबाट ललितकला आर्टमा स्नातक अध्ययन गरेका थिए। त्यहीँबाट उनको कलाकारिताको जीवन औपचारिक र पेसागत रुपमा सुरु भएको थियो।
 
चित्रकार किरण मानन्धरले कलाकार लामो समय फ्रान्स बसेपनि महर्जनको सृजनामा नेपाली मौलिकता झल्कने बताए। आफूले धेरै वर्षपहिले नै कलाकार महर्जनलाई नेपालमा प्रदर्शन गर्न सल्लाह दिएको उनले बताए। 'उहाँले त्यो कुरा अहिले पूरा गर्नुभएको छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell