PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कान्तिपुर गाथा : डाक्टर अनिकेतको रुपले मोहित कनिका



किशोर नेपाल

कान्तिपुर गाथा : डाक्टर अनिकेतको रुपले मोहित कनिका

डाक्टर अनिकेतलाई देख्ने वित्तिकै कनिका दंग परी। इन्स्ट्यान्ट क्रस भयो उसको। त्यस्तो साउन्ड सेपको मान्छे देखेकै थिइन उसले। कति राम्रो हो कति। मनमनै सोची - यो मान्छेसँग मेरो त म्याच नै हुँदैन होला।

‘वेलकम, आउनुहोस्। म अनिकेत, डाक्टर अनिकेत। तपाईं पत्रकार हगि ? तपाईंले नै हो मसँग कुरा गर्न खोजेको?’

कनिकाले जवाफ दिइ, ‘हो सर! मैले नै हो सरसँग कुरा गर्न खोजेको।’

अनिकेतले भन्यो,  ‘सोध्नुहोस्, के सोध्न चाहनुहुन्छ।’

कनिकालाई सोध्न त मन लागेको थियो,  ‘तपाईं कति राम्रो! कसरी हुनु’भो यस्तो लोभ लाग्दो।’

तर, उसले आफ्नो मनलाई कन्ट्रोल गरी र सोधी, ‘तपाईं यो सरकारी अस्पतालको प्रमुख रेडियोलोजिष्ट हुनुहुन्छ। उपचारका सिलसिलामा विरामीहरुको विभिन्न प्रकारका जाँच गर्नु हुन्छ तपाईंहरु। पैसा तिर्न सक्नेले त त्यस्तो जाँच सजिलै गराउँछन्। पैसा नभएकाहरुको के हुन्छ?’

अनिकेतले जवाफ दियो,  ‘त्यस्ता विरामीहरुको लागि सरकारको निर्णय अनुसार हामीले सहुलियत दरमा सेवा उपलव्ध गराएका छौं।’
कनिकाको अर्को प्रश्न थियो,  ‘त्यसो भए उपचार नपाएर यहाँबाट कोही फिर्ता जानु परेको छैन, होइन?’

अनिकेतले भन्यो,  ‘त्यस्तो त कहाँ होला र? त्यस्तो सेवा कसरी लिन सकिन्छ भनेर नजान्ने पनि थुप्रै हुन्छन्। कति विरामीसँग सरकारले तोकेको न्युनतम सहुलियत रकमसमेत हुँदैन। कति विरामी सेवा लिनेहरुको लाइनमा बस्न सक्दैनन्। सरकारी सहुलियत त्यही २० प्रतिशतले पाएका होलान।’

कनिकाको मन डाक्टरको कुरामा केन्द्रित हुन सकेको थिएन। डाक्टर बोलिरहँदा उ बेला बेलामा कर्के आँखाले डाक्टरलाई हेर्थी। यसरी हेर्दा एकपटक त डाक्टरसँग उसको आँखा जुध्यो। कनिकामात्र अनिकेततिर तानिएकी थिइन। डाक्टरलाई पनि कनिकाको शरीर सौन्दर्य र फ्री फ्र्याङ्क अप्रोचले आकर्षित गरेको थियो। बेला बेलामा उ पनि कनिकाको क्लिभेज र कर्भतिर आँखा लगाइरहेको थियो। एउटा प्रश्नको जवाफ दिँदै गर्दा अनिकेतको आँखा कनिकाको ट्रान्सप्यारेन्ट टपबाट भित्र कतै छिरेको थियो। डाक्टर र रिपोर्टर बीचको आकर्षण दोहोरो थियो। दुवैको मनमा एकअर्कासँग फ्लर्ट गर्ने र डेटिङ जानेसम्मका कल्पनाले चिहाइसकेका थिए।

वार्ता सकिएपछि कनिका उठ्नै लाग्दा डाक्टर अनिकेतले भन्यो, ‘लेट्स हायभ अ कफी टुगेदर। होप यू डोन्ट माइन्ड।’

कनिका खुशी भइ,  ‘ओहो, आइ फिल अनर्ड। बट, कफी विदाउट स्मोकिङ इज समथिङ आइ डोन्ट थिङ्क अवाउट।’

डाक्टरले जवाफ दियो,  ‘नो वरी। हामी मेरो पर्सनल लाउन्जतिर जाउँला।’

कफीमा कनिकाको र डाक्टरको टेष्ट मिल्यो। दुवै स्ट्रङग अमेरिकानोका पारखी। अनिकेतको पर्सनल लाउन्जमा स्मोकिङको सुविधा थियो। अनिकेत आफैं पनि माइल्ड स्मोकर थियो। सिगरेटमा पनि दुवैको च्वाइस मिल्यो मार्लवोरो लाइट। लाउन्जमा बसेर उनीहरु गफ गर्न लागे। कनिकाले भनी,  ‘ल, भैगो हामीले त सिगरेट छाड्न सकेनौं। तर, प्रत्येक पाँच मिनटमा दुनियाँलाई सिगरेट छाड भनेर अर्ती दिने डाक्टरहरुले नै सिगरेट तान्न थालेपछि के होला यो देशको स्वास्थ्यको?’

कनिकाको कुरा सुनेर डाक्टर अलिकति लजायो। कुनै जवाफ भने दिएन। त्यसपछि उनीहरुका बीचमा फायर एण्ड आइसको पिज्जादेखि घरे–कवावको विरयानीसम्मका कुरा भए। सिंगल माल्ट र सिंगापुर ककटेलका चर्चा भयो। उनीहरुले कान्तिपुरको डल लाइफको निकै कुरा काटे। पार्टीहरु सबै एकै प्रकारका हुने, त्यसमा कुनै रोचक कुरा नहुने निष्कर्ष निस्कियो। कान्तिपुरका मानिस कपडा फेरी फेरी लगाउन जान्दछन् तर कुरा फेरी फेरी गर्न जान्दैनन्। सबै पार्टीमा एकैप्रकारका कुरा गर्दछन भन्ने उपसंहारमा आएपछि कनिका डाक्टर अनिकेतसँग छुट्टिइ।

त्यहाँबाट उ सिधै मकैबारी चिया पसलतिर लागि। त्यहाँ एउटा फोटोग्राफरसँग भेट्नु थियो। उ पुगेको केहीबेरपछि फोटोग्राफर आइपुग्यो। उसले केही व्यवहारिक प्रश्न गरी। अनलाइनका लागि सुदिप्तीले एउटा फोटोग्राफर खोज्न लगाएकी थिइ कनिकालाई। यो फोटोग्राफरले उसको ड्याडको अफिसमा काम गरिसकेको थियो। कुरा सकिएपछि फोटोग्राफरलाई उसले सुदिप्तीसँग भेट्न पठाई। आफू चियासँग गिजोलिएर बसी।

अनिकेतलाई भेटेदेखि नै कनिकाको मनमा अनेक तर्कनाहरुले जन्म लिएका थिए। तर्कनाको क्रममा उसले चार्लीलाई सम्झिइ। अनिकेत जतिसुकै चार्मिङ भए पनि चार्लीसँग उसको तुलना हुन नसक्नेमा उ सहमत थिइ। चार्लीको अनुपस्थितिमा डाक्टरसँग यसो लाइट रिलेसनसीप मेन्टेन गर्दा के होला त? भन्ने कुरा पनि उसको मनमा खेलिरहेको थियो। उ सोचिरहेकी थिइ, लाइट भन्दा भन्दै सम्बन्ध गहिरियो भने त वर्वाद हुन्छ। कुन अनुहार देखाउँछे उसले चार्लीलाई? आखिर चार्ली उसको आफ्नो च्वाइस थियो। त्यो पनि पहिलो। चार्ली त अनेक अप्सनहरुसँग खेलिरहेको थियो। कनिकाले नै बढाएकी थिइ मित्रताको हात। कनिकाले नै लुटपुट्याएकी थिइ चार्लीलाई। चार्लीले उसलाई दुई वर्ष पर्खिन भनेको हो। त्यसमा पनि नौ महिना त बितिसक्यो। चार्ली दुई पटक आइसक्यो कान्तिपुर।

कनिका डिष्टर्ब भइ। चिया पसलबाट अफिस गइ। सुदिप्ती अफिसमा थिइन। नयाँ फोटोग्राफरलाई काम असाइन गरेर एक घण्टाको लागि कतै निस्किएकी थिइ। कनिकाले एउटा सानो नोट लेखेर उसको टेवलमा राखी दिइ : ‘मी डिस्टर्ब। इन रोडहाउस लाउन्ज। कम ओभर प्लिज।’

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell