PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लोकमानविरुद्ध नखुलेका डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पनि उनी विरुद्ध



पहिलोपोस्ट

लोकमानविरुद्ध नखुलेका डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पनि उनी विरुद्ध

काठमाडौं : लोकमानविरुद्ध अभियान चलिरहँदा घुमाउरो पारामा उनको पक्षमा वकालत गर्ने नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अन्तत: लोकमानविरुद्ध नै उभिएका छन्।

उनी नेतृत्वको नयाँ शक्ति नेपालले आज विज्ञप्ति जारी गर्दै लोकमान प्रकरणमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।  
 
‘संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ,’ नयाँ शक्तिले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संवैधानिक अंगमा बहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम छ भन्ने हाम्रो विश्वास छ।‘
 
नयाँ शक्तिले थप भनेको छ, ‘यी कुराहरुले राजनीतिक दलहरुबाट भएको आयोगको प्रमुख नियुक्तिमै त्रुटी रहेको कुरालाई पुष्टि गर्दछ।‘
 
दुई महिनाभन्दा केही अघिमात्रै भट्टराईले अख्तियारको अमुक व्यक्ति हटाउनु सट्टा सो संस्थालाई नै बढी स्वायत्त, निष्पक्ष, शक्तिशाली, संसदप्रति जिम्मेबार लोकपाल बनाउने अभियान चलाउने कि? भन्दै ट्विट गरेका थिए। 

नयाँ शक्तिले संसदबाट सिधै नियुक्त हुने जनलोकपालको आवश्यकता भएको बताउँदै त्यस्तो संस्थाले मात्र बिना कुनै हस्तक्षेप जनता र संसदप्रति उत्तरदायी हुनेगरी काम गर्न सक्ने जनाएको छ।
 
भ्रष्टाचार निवारणका लागि नि:स्वार्थ र निर्भिकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै बिबादमा तानिनु दु:खद् विषय रहेको समेत पार्टीले जनाएको छ। ‘त्यसले भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति देखिएको छ,’ वक्तव्यमा भनिएको छ, ‘तसर्थ, यस्तो संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संवेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा हैन कि राम्रा र जनउत्तरदायी मानिसहरु नियुक्ति गरियोस् भनी नयाँ शक्ति नेपाल ध्यानार्कषण गराउन चाहन्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell