काठमाडौं: हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको फिल्म निर्देशनको जिम्मा दिने बताए।
‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले सो जानकारी दिएका हुन्। फिल्मको गीत केहि दिनमा सार्वजनिक हुँदैछ। प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, 'त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ,' हरिवंशले भने।
मह सञ्चारद्धारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन समूहसँगै प्रदिपको ठूलो भूमिका रहेको उनले बताए । नयाँ फिल्मको निर्देशक प्रदिपलाई नै बनाउने मनस्थिति रहेको प्रस्ट पारे। ‘जात्रा’ फिल्ममा उठाइएको विषयले आफुलाई निकै प्रभावित गरेकोले फिल्म चल्नेमा उनको विश्वास रहेको जानकारी दिए।
विपिन कार्की (भस्मे), वर्षा राउत, रबिन्द्र सिंह बानीया (हनुमान), रबिन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ।
‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन्। स्कृप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उनको भनाई छ।