
काठमाडौं : असोज ४ गते बिहानै राजधानीमा बम आतंकले सबैलाई त्रसित बनायो। राजधानीका ११ बटा विद्यालयमा बम भेटिए। दुईवटा विद्यालयमा सेनाको डिस्पोजल टोलीले निस्क्रिय पार्यो। अन्य विद्यालयमा भने बम जस्तै देखिने वस्तुहरु कुकरमा तार जोडिएको भेटियो। घटना भएको दिनै प्रहरीले बम राखेको अभियोगमा काठमाडौंको बौद्धबाट दुई जनालाई पक्राउ गर्यो। बम काण्डका मुख्य योजनाकार भनिएका मीनबहादुर देवकोटा भने फरार थिए। फरार अभियुक्तलाई खोजी गर्न प्रहरी सक्रिय रह्यो।
घटनाको एक महिनापछि प्रहरीले मीनबहादुर देवकोटासहित केशव दाहाललाई पक्राउ गर्न सफल भयो। अहिलेसम्म पक्राउ परेका ६ जना नै माओवादी कम्युनिस्ट केन्द्र नेपाल पार्टीका छन्। पक्राउ परेका मीनबहादुर देवकोटा भनिने विनोद देवकोटा भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक रहेको खुलेको छ। तत्कालीन नेकपा माओवादीबाट सेना समायोजनका क्रममा भागेका केही युवाले खोलेको संस्था हो यो।
पक्राउ परेका केशव दाहाल भने अहिलेसम्म ७ पटक पक्राउ परिसकेका अभियुक्त हुन्। दाहाल सुरेन्द्र लामाको अपहरण, सुन्दरीजलमा बम राखेका कारण, वन्यजन्तुको छाला तस्करी, लगाएतका अभियोगमा पक्राउ परिसकेका हुन्।
महानगरीय आयुक्त कार्यलयका प्रमुख एआइजी प्रतापसिह थापाले भने, ‘यिनीहरु आफूलाई राजनीतिक दलका व्यक्ति भन्दै निजी विद्यालयलाई आधार बनाएर चन्दा माग्ने गरेको पाइएको छ।‘
यिनीहरुलाई पक्राउसँगै प्रहरीले ग्यास सिलेन्डर दुई थान, कुकर एक थान, रातो तार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विदार्थी युनियन केन्द्र, योङ्ग कम्युनिस्ट फोर्स नेपालको संयुक्त अपिल लेखको पर्चा, विभिन्न चन्दा रसिदसमेत बरामद गरेको छ। पक्राउ परेका केहीले आफै सामान्य किसिमको बम बनाउने गरेको खुलेको छ। त्यस्तै उनीहरु समायोजनका क्रममा भाग्दा लगेको हतियार समेत रहेको प्रहरीले जनाएको छ। तर कति हतियार लगेका थिए भन्ने बिषयमा खोजी भइरहको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।
विद्यालय संचालकमात्र होइन यिनीहरुले ठूला व्यापारीसँग समेत चन्दा आतंक मच्चाएको हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बम काण्डमा सहभागी अन्य जानु श्रेष्ठ, देवेन्द्रसिंह महत लगायत केही व्यक्ति भने फरार छन्। पक्राउ परेका मीनबहादुर देवकोटा, केशव दाहाल, शंकर लाखे, चन्द्रबहादुर तामाङ लगायतलाई संगठित अपराध अन्तर्गत कारवाही हुनसक्ने छ।