PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लोकमानविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाउन समन्वयको जिम्मा प्रचण्डलाई



पहिलोपोस्ट

लोकमानविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाउन समन्वयको जिम्मा प्रचण्डलाई

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउने विषयमा नेकपा माओवादी केन्द्रले सत्तारुढ कांग्रेस सहितका दलहरुसँग परामर्श गर्ने भएको छ।

माओवादी हेडक्वार्टरको आज बसेको बैठकले परामर्श गर्ने जिम्मा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको हो।

बैठकमा माओवादी केन्द्रका नेताहरुले महाभियोग प्रस्ताव दर्ता भएर अगाडि बढिसकेको अवस्थामा पारित गरेर जानुको विकल्प नभएको बताएका थिए। उनीहरुले महाभियोग प्रस्तावका विषयमा कांग्रेससँग सार्थक संवाद गर्नुपर्ने समेत बताएका थिए।

बैठकपछि माओवादी प्रवक्ता पम्फा भुषालले महाभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गर्ने निर्णय भएको बताइन्।

‘व्यवस्थापिका–संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता कमरेड प्रचण्डलाई दिने निर्णय गरियो’, उनले भनिन्।

माओवादी प्रस्तावक र एमाले समर्थक रहेको महाभियोग प्रस्तावमा कांग्रेसले समर्थन गर्ने निर्णय अझै लिएको छैन जसका कारण सत्तारुढ घटकबीचको दूरी समेत बढेको छ।

नेपाली कांग्रेसले अरु दलसँग सल्लाह गरेपछि मात्र निर्णय लिने भन्दै आफ्‍नो केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित गरेको छ। 

दलहरुबीच सहमति हुन नसकेपछि महाभियोग प्रस्ताव दर्ता भएको भोलिपल्‍ट बिहीबार बस्नुपर्ने संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell