PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अरहान्त र भावना च्याम्पियन, हिराद्वारा सन्यास



पहिलोपोस्ट

अरहान्त र भावना च्याम्पियन, हिराद्वारा सन्यास

काठमाडौं : अरहन्तकेशर सिंह र भावना सुनुवारले चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। यता नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्।

सातदोबाटोमा शनिबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे। हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए। विजेता अरहन्तले १५ हजार तथा उपविजेता अमृतले ८ हजार रुपियाँ प्राप्त गरे।

विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स फाइनलमा भावनाले विपना ब्लोनको चुनौती कडा प्रतिस्पर्धापछि ८–११, ११–३, ११–८, ६–११ र ११–४ ले पन्छाइन्। सपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेस्रो स्थानमा रहे।

जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोनले च्याम्पियन बन्न दीपक थापालाई ११–४, ८–११, ११–४ र ११–७ ले हराए। विजय मगर र रोशन लामा तेस्रो बने। जुनियर ब्वाइज यु–१३ सिंगल्सको उपाधि भिडन्तमा गोपाल थापाले रञ्जित थापालाई १२–१०, ८–११, ११–९, ११–५ ले पाखा लगाए। 

भेट्रान ५० वर्षमाथिको उपाधि सुदीपबहादुर सिंहले रक्षा गरे। उनले बेलायतबाट आएका ब्रिटिस गोर्खामा कार्यरत यम रानालाई ११–२, ११–९, ११–५ ले निराश पारे। प्लेट च्याम्पियन्सीपमा विनोद रत्न शाक्लये ब्रिटिस गोर्खाकै धीर पुनलाई ७–११, ११–६, १३–११, ११–६ ले पराजित गरे।

सिभिल बैंकको मुख्य प्रायोजनमा भएको पाँचदिने प्रतियोगितामा ८५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। त्यसमा १० प्रतिस्पर्धी बेलायतको ब्रिटिस गोर्खामा कार्यरत हुन्। कुल नगद पुरस्कार राशी ६५ हजार रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell