PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कांग्रेस सांसद भन्छन् - लोकमान महाअभियोगविरुद्ध पार्टीले ह्वीप जारी गर्‍यो भने पनि मान्दिनँ



रमेश वाग्ले

कांग्रेस सांसद भन्छन् - लोकमान महाअभियोगविरुद्ध पार्टीले ह्वीप जारी गर्‍यो भने पनि मान्दिनँ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लगाउनेबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने मध्येका एक हुन्- नेपाली कांग्रेसका सांसद् धनराज गुरुङ।

गत साउन ६ गते संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल नहुँदै प्रस्तावक कांग्रेस सांसद गगन थापा मन्त्री बनेपछि उनीहरुको प्रस्ताव अलपत्र परेको थियो।

प्रस्ताव अलपत्र परेपछि अर्को उपायको खोजीमा लागेका सांसद गुरुङले कांग्रेस मात्र नभएर एमाले र माओवादीका सांसद्सँग पनि कुराकानी गरेका थिए। उनले आफू प्रस्तावक बसेर लोकमानविरुद्ध महाअभियोगकै प्रस्ताव दर्ता गर्न भरमग्दुर प्रयत्न गरे। १५० जना सांसद पुर्‍याएर महाअभियोग प्रस्ताव दर्ता गराउन प्रयत्न गरेका उनले त्यो प्रयासमा एमाले र माओवादीका मात्र हैन आफ्नै पार्टीका सांसद्ले समेत साथ नदिए पछि तीनजना मात्र भए पनि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रयत्न गरे।

उनले त्यसरी दर्ता हुने प्रस्तावमा तीनवटा पार्टीको प्रतिनिधित्व गराउने प्रयत्न गरे। एमालेका कर्णबहादुर थापादेखि माओवादी केन्द्रका अमनलाल मोदी र आफ्नै पार्टीमा रामहरी खतिवडादेखि माओवादी केन्द्रले मनोनित गरेका श्याम श्रेष्ठसँगसम्म धाए। तर प्रयास सफल नभएका कारण दिक्क बनेका थिए।

तर अहिले उनैलाई समेत खबर नगरी एमाले-माओवादी सांसद्हरुले लोकमानविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदा गुरुङ उत्साहित छन्। भन्छन्, 'हिजो हामी तीन जनाले मात्र लगेको प्रस्तावले निस्कर्ष प्राप्त गर्न सकेको थिएन अहिले टिम मजबुत भएको छ। अब गोल पक्का हुन्छ।'

महाभियोगका लागि सुरुमा उनी नै सक्रिय पनि पछि प्रस्ताव दर्ता हुँदा उनलाई प्रस्तावकहरुले थाहै दिएनन्।

'मैले एमालेका प्रमुख सचेतकलाई नै भनेको थिएँ तपाई आफ्नो अध्यक्षलाई कन्भिन्स गराउनुस्, म मेरो सभापति कन्भिन्स गराउँछु' गुरुङले भने, 'तर उहाँबाट जवाफ आएन। एकैपटक महाअभियोगको प्रस्ताव दर्ता भएको खबर पाएँ।' उनले त्यस्तो सुनेर पनि आफूलाई दुःख भने नलागेको बताए।

'हामीले फूटबल अघि बढाउँदै गोलपोस्ट नजिक पुर्‍याउनै लागेका थियौँ, उहाँहरुले स्ट्राइक गर्नुभयो,' सांसद गुरुङले भने, 'खेलाडीले गोल हान्न पाइनँ भनेर दुःख मान्दैन। किनभने आफूले गर्ने भन्दा पनि गोल गर्ने महत्वपूर्ण कुरा हो।' उनले गोल हुन लागेकोमा आफू उत्साहित भएको बताए।

यही समयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा लोकमानलाई महाअभियोग लगाउने विषयमा नै छलफल भइरहेको छ। त्यसमा कतिपय केन्द्रीय सदस्यहरुले एमाले र माओवादीबाट राजनीतिक संस्कार समेत नदेखाइएको तथा एमाले माओवादीका नेतामाथिको छानबिन रोक्न महाअभियोग दर्ता भएको भन्दै त्यसलाई समर्थन गर्न नहुने बताइरहेका छन्। तर गुरुङ भने त्यस्ता तर्कसँग सहमत छैनन्।

'कांग्रेसको केन्द्रीय समिति बैठकमा एक दुई केन्द्रीय सदस्यले एमाले र माओवादी केन्द्रका नेताहरुले डराएर महाअभियोग दर्ता गरेको भनिरहनुभएको छ भने कतिपयले अदालतमा विचाराधीन विषय भएकाले अहिले हतारिन नहुने पनि भन्नुभएको छ,' गुरुङले भने, 'म उहाँहरु लोकमानबाट थोर बहुत प्रभावित भएको मान्छु। किनभने अदालतको विषय र महाअभियोगको विषय सम्बन्धित नै छैन।' उनले अदालतमा उनको योग्यताको र अदालतको मानहानीको विषय भएको भन्दै महाभियोगमा उनको पदीय मर्यादा र आचरणको विषय भएको बताए।

उनले लोकमानले पदमा गएपछि जिम्मेवजारी पूरा गर्ने भन्दा पनि त्यसको दुरुपयोग मात्र गरेको भन्दै उनका गलत कामहरु घाम झै छर्लङ्ग रहेको बताए।

'लोकमानले गोकर्ण रिसोर्टको सेयर हस्तान्तरणमा प्रत्यक्ष हस्ताक्षेप गरेको र काठमाडौ विश्वविद्यालयको प्रवेश परिक्षा प्रभावित पारेको लिखित प्रमाण छ,' उनले भने, 'त्यसबाहेक एन्फा अध्यक्ष गणेश थापाको ५८ करोड भ्रष्टाचारको छानविन गर्न लेखा समितिले दिएको निर्देशन विपरीत उनको फाइल लुकाइदिँदा देशको नै बेइज्जत भएको छ।' उनले एन्फा अध्यक्षमाथिको छानबिन रोक्दा फिफाले छानबिन गरेको र कारवाही पछि देशको छवि धुमिल बनाएको बताए।

'त्यसबाहेक संसद्को समितिमा बोलाउँदा समेत अटेर गरेर उनले संवैधानिक मर्यादालाई कुल्चिएका छन्' गुरुङले भने।

उनले लोकमानका गलत कामको फेहरिस्त सबैका सामु छर्लङ्ग रहेको भन्दै कांग्रेसले महाअभियोग प्रस्तावका विरुद्ध निर्णय नलिने बताए। राजनीतिमा धेरै संभावनाहरु जीवित हुन्छन्। कांग्रेसले महाअभियोग प्रस्तावको विरुद्धमा निर्णय लियो भने के हुन्छ त?

गुरुङ भन्छन्, 'कांग्रेस लाचारहरुको पार्टी हैन, यति महत्वपूर्ण विषयमा त्यस्तो निर्णय कांग्रेसले लिँदै लिँदैन।'

यदि लियो भने के हुन्छ त ?

गुरुङ भन्छ्न्, 'यदि त्यस्तो अवस्था आयो भने एक्लै किन नहोस् धनराज गुरुङले फ्लोर क्रस गर्छ, पार्टीको ह्वीप मान्दैन। सांसद् पद गुमाउनका लागि तयार रहन्छ।'

उनले पर्‍यो भने त्यस्तो गर्न तयार रहे पनि त्यस्तो अवस्था नआउनेमा आफू विश्वस्त रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell