PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

देउवा भन्छन्- प्रधानमन्त्री प्रचण्डसँग महाभियोगबारे अहिलेसम्म छलफल भएकै छैन



रमेश वाग्ले

देउवा भन्छन्- प्रधानमन्त्री प्रचण्डसँग महाभियोगबारे अहिलेसम्म छलफल भएकै छैन

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग अहिलेसम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बारे छलफल नभएको बताएका छन्। 

संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव पारित गर्न १० विद्यार्थी संगठनले बुढानिलकण्ठस्थित निवासमै गएर बुझाएको ज्ञापनपत्र बुझ्दै देउवाले हिजो प्रधानमन्त्रीसँग बालुवाटारमा भएको आफ्नो भेटमा पनि महाभियोगबारे हैन, अरु नै विषयमा कुराकानी भएको जानकारी दिए। 

प्रधानमन्त्रीले पहिला आफ्नो दल (माओवादी केन्द्र) मा छलफल गर्ने र त्यसपछि कांग्रेससँग कुरा गर्ने बताउँदै अहिलेसम्म यो विषयमा कुरै नभएको देउवाले बताए। 

कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका ११ विद्यार्थी संगठनहरुले बुझाएको संयुक्त ज्ञापनपत्रमा लोकमानको नियुक्तिदेखि कै प्रक्रिया गलत रहेको र त्यसलाई सच्याउने अवसर अहिले आएको उल्लेख छ।

'यस्ता विषयमा व्यक्तिगत धारणा बनाउनु उचित हुन्न। मेरा धारणा मसँगै सुरक्षित छन्', देउवाले भने, 'संसदीय दलको बैठक बसेकै छैन, केन्द्रीय समितिको बैठक जारी छ। बैठकबाट संस्थागत धारणा बनाउँछु।'
 
देउवाले अहिलेसम्म महाभियोग प्रस्तावबारे सत्ता साझेदार दलसँगै कुराकानी नभएको बताएको हुनाले बिहान ११ बजेदेखि बस्ने भनिएको संसद बैठक ढिला सुरु हुने वा सर्ने संकेत देखिएको छ। 

यसअघि बिहीबारको संसद बैठकमा सभामुखले महाभियोग प्रस्तावबारे छलफलको मिति निर्धारण गर्ने कार्यसूची बनाए पनि दलहरुबीच थप छलफल आवश्यक भएको भन्दै आइतबारका लागि बैठक सारिएको थियो। 

माओवादी केन्द्रको हिजोको हेडक्वार्टर बैठकले महाभियोग प्रस्तावलाई सबैसित समन्वय गरी अघि बढाउने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो। 

माओवादी संसदीय दलको बैठक बिहान साढे १० बजे बस्दैछ। कांग्रेसको केन्द्रीय समिति बैठक भने सोमबार बस्दैछ।

कांग्रेसले अहिलेसम्म महाभियोगबारे संस्थागत निर्णय गरिनसकेको भए पनि प्रस्तावको पक्षमा उभिन युवा नेताहरुका तर्फबाट दबाब बढ्दै गएको छ। 

सांसद धनराज गुरुङले पहिलोपोस्टसित कुरा गर्दै पार्टीले महाभियोगको विपक्षमा जान ह्विप जारी गरे त्यसलाई नमान्ने बताएका छन्। 

सम्बन्धित समाचार
कांग्रेस सांसद भन्छन् - लोकमान महाअभियोगविरुद्ध पार्टीले ह्वीप जारी गर्‍यो भने पनि मान्दिनँ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell