
टोटनहमले खेल जित्न नसकेपनि प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको दिन आर्सनल मिडल्स्ब्रोसँग बराबरी खेल्नका बाबजुत पनि शीर्ष स्थानमा उक्लेको छ।
प्रिमियर लिग अन्तर्गत गएराती अबेर भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमिच अल्विओनलाई हराउँदै आर्सनलसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि पर्यो।
आर्सनल घरेलु मैदानमै भएको खेलमा मिडल्स्ब्रोसँग गोलरहित बराबरीमा रोकियो। त्यसै समयमा भएको अर्को खेलमा टोटनहमलाई एएफसी बर्नमाउथले आफ्नै मैदान गोलरहित बराबरीमा रोकेको हो।
टोटनहमले खेल जित्न नसकेपनि यस सिजन प्रिमियर लिग अपराजित यात्रा कायम राख्न एक्लो टीम बनेको छ।
यता लिभरपुलले वेष्ट ब्रोमिचलाई २-१ ले हरायो। साडियो मेन र फिलिप काउटिन्होको गोल मार्फत पहिलो हाफमै दुई गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा भने प्रदर्शन कायम राख्न सकेन।
यदी लिभरपुल दुई गोलको अन्तरमा विजयी भएको आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लने थियो। तर त्यसो हुन सकेन। वेष्ट ब्रोमिचका लागि दोस्रो हाफमा गारेथ म्याकअउलीले एक गोल फर्काए।
जितपछि ९ खेलबाट लिभरपुलको २० अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ। बराबरी खेलेपनि समान खेलबाट २० अंक नै जोडेको आर्सनल शीर्ष स्थानमा छ।
टोटनहम भने १९ अंक सहित चौथो स्थानमा छ। एक खेल कम खेल्दै १९ अंक नै जोडेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ।
गएराती नै भएको खेलमा साविक विजेता लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३औ१ ले हराउँदै सिजनको तेस्रो जित हात पारेको छ। लेस्टरको जितमा अहेमद मुसा, सिन्जी ओकाजाकी र क्रिस्टियन फुचले १/१ गोल गरे। प्यालेसका लागि योहान कावायेले सान्त्वना गोल फर्काए। ९ खेलबाट ११ अंक जोडेको लेस्टर १२ औं स्थानमा छ।
प्रिमियर लिगकै अन्य खेलमा स्टोक सिटीले हल सिटीलाई २-० ले हरायो भने वेष्टहम युनाइटेडले सण्डरल्याण्डलाई १-० ले पराजित गर्यो। वाटफोर्ड र स्वान्सी सिटीले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।