काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।
माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ – “हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछ ।”
‘महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की’
उता राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटङ्की भएको बताएका छन्।आज बिहान महोत्तरीको गौशाला आएका अध्यक्ष भण्डारीेले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को फोहोरी खेल भएको आरोप लगाए।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने बताए। रासस