PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

महाभियोगबारे छलफल गर्ने मिति सार्न कांग्रेसको आग्रह, सभामुखले भनिन्- मिल्दैन



मनोज सत्याल

महाभियोगबारे छलफल गर्ने मिति सार्न कांग्रेसको आग्रह, सभामुखले भनिन्- मिल्दैन

काठमाडौँ :  व्यवस्थापिका संसदको बैठक सामान्यतया बिहान ११ बजे बस्ने गर्छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोगबारे छलफल गर्नका लागि बस्ने संसद बैठक भने कात्तिक ९ गते मंगलबार दिउँसो ३ बजे डाकिएको छ। 

सभामुख ओनसरी घर्तीले आजको बैठकबाट छलफलको मिति घोषणा गरेकी थिइन्।

सभामुखले नेपाली कांग्रेसले गरेको आग्रह मानेको भए बैठक ९ गतेभन्दा पछि बस्न सक्थ्यो तर उनले त्यसलाई अस्वीकार गरिदिइन्। 
कांग्रेसले कार्कीविरुद्धको महाभियोगबारे पार्टीले निर्णय गरिनसकेको र छलफलमा रहेको उल्लेख गर्दै छलफल हुने मिति सारिदिन आग्रह गरेको थियो। 

'कांग्रेसले भोलि र पर्सिको दुई दिनसमेत कटाएर (छलफलको मिति राख्न) भनेको तर मैले नियमावली अनुसार मिल्दैन भनेँ', उनले भनिन्, 'निकास दिन दलहरु एक ठाउँमा आए राम्रो हो। मैले त्यही भएर बैठक मंगलबार ३ बजेका लागि राखेको हुँ।'

नियमावली अनुसार महाभियोग प्रस्ताव दर्ता भएको सात दिनभित्र छलफल हुनुपर्छ। प्रस्ताव कात्तिक ३ गते बुधबार साँझ दर्ता भएको हो। 
उनले मंगलबार प्रस्तावकले महाभियोग प्रस्ताव पेश गर्ने बताइन्। यद्यपि दलहरुले समय मागेको खण्डमा भने छलफल पछाडि सार्न सकिने उनले बताइन्। 'तयारी गरेर बोल्ने भन्ने आयो भने केही दिनको कुरा हो', उनले भनिन्। 

उनले सांसदहरुले 'म बोल्छु भनेर भन्दा पेलेर जाने' अवस्था नहुने बताइन्। उनले प्रक्रियाहरु पुर्‍याएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन्।
 
'महाभियोग सिफारिश समितिमा पठाएपछि पनि सफाइ दिने सात दिनको समय छ, उनले भनिन्, 'सात दिन दिनुपर्छ, एक दिनमा आइज भन्न पाइन्न, आरोपितलाई समय दिनुपर्छ।' 

संसद नियमावलीमा सात दिनभित्र महाभियोग सिफारिस समितिले सफाईको मौका दिनुपर्ने उल्लेख छ।

'कच्चा काम गर्दिनँ'

सभामुख घर्तीले आफूले गत बुधबार महाभियोग पेश गर्ने विषयमा लामो परामर्श गरेको खुलाइन्। उनले आफूले कच्चा काम नहोस् भनेर नै राति अबेरसम्म कार्यालय बसेको बताइन्। बुधबार साँझ महाभियोग दर्ता भएपछि सोही दिन राति कार्की निलम्बनमा परेको जानकारी अख्तियार, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा गराइएको थियो। 

सभामुख घर्तीले कानुनविद् र राजनीतिक दलहरुसँग बुधबार छलफल गरेको खुलाइन्। 

'मैले कानुनी सल्लाहकारसँग पनि छलफल गरेँ, किन कच्चा काम गर्ने भनेर', उनले भनिन्, 'परामर्शमा समय खाएको हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell