
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताएका छन्।
कर्मचारीहरुलाई भेला पारेर आयोग परिसरमा बस्न्यातले लोकमानमाथिको महाभियोगले आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने समेत स्पष्ट गरे।
'आयोग नेतृत्वविरुद्धको महाभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहात तुल्याएको बताउनुहुँदै कार्यवाहक प्रमुख आयुक्तले आयोग एउटा जीवन्त संस्था भएको हुँदा निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने स्पष्ट पार्नुभयो', अख्तियारका प्रवक्ता गणेशराज कार्कीले जारी गरेको तीन पेज लामो विज्ञप्तिमा उल्लेख छ।
बस्न्यातले महाभियोग प्रस्तावले संसदमा प्रवेश पाएकाले अब संवैधानिक प्रक्रियाबाटै निरुपण हुने उल्लेख गर्दै संसदको निर्णय शिरोधार्य हुने बताएको विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीलाई सूचना नचुहाउन निर्देशन
बस्न्यातले प्रवक्ता र सूचना अधिकारीबाट सूचना बाहिर जानुपर्ने बताउँदै कर्मचारीलाइ सूचना नचुहाउन निर्देशन दिएका छन्।उनले कर्मचारीहरुलाई आयोगको अनुसन्धान प्रकृया र तिनको गोपनियताको प्रश्न संवेदनशील र मार्मिक भएको उल्लेख गर्दै जिम्मेवार रहन निर्देशन समेत दिएका छन्। बस्न्यातले कसुरउपर कडा र व्यक्तिउपर नरम व्यवहार प्रदर्शन गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन्।


