
पेड्रो रोड्रिग्वेजले यस सिजनको इंगलिस प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेको खेलमा चेल्सीले म्यानचेष्टर युनाइटेडविरुद्व शानदार जित हासिल गरेको छ।
गत वर्ष चेल्सीबाट बर्खास्त भएपछि पहिलो पटक युनाइटेडको प्रशिक्षकको भूमिकामा स्टानफोर्ड ब्रिज पुगेका जोसे मोउरिन्हो पूर्व क्लब विरुद्व पहिलो खेलमै स्तब्ध बने।
घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको एकपक्षिय खेलमा चेल्सीले युनाइटेडलाई ४-० ले पराजित गरेको हो। खेल सुरु भएको ३० सेकेण्डमै पेड्रोले गोल गरेपछि चेल्सीले पहिलो मिनेटमै अग्रता लियो। सुरुमै गोल खाएपछि युनाइटेडले खेलमा सम्हालिने अवसर पाएन। २१ औं मिनेटमा ग्यारी काहिलले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २ गोल गरेको चेल्सीले दोस्रो हाफमा पनि २ गोल नै थपे। ६२ औं मिनेटमा एडेन हाजार्ड र ७० औं मिनेटमा एन गोले कान्टेले गोल गरेपछि चेल्सीले ४-० को शानदार जित हात पारेको हो।
जितपछि ९ खेलबाट १९ अंक जोडेको चेल्सी यस सिजन अपराजित रहेको टोटनहमलाई पछि पार्दै अंक तालिकामा चौथो स्थानमा उकलेको छ। समान अंक रहेपनि गोलअन्तरमा पछि पर्दै टोटनहम पाँचौमा झरेको छ। पराजित युनाइटेड भने ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा कायम छ।