
रियल मड्रिड स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लँदा एथ्लेटिको मड्रिडलाई पराजित गरेको सेभिया दोस्रो स्थानमा उक्लेको छ।
आइतबार भएको पहिलो खेलमा एथ्लेटिकोलाई १-० ले हराउँदै सेभिया शीर्ष स्थानमा उक्लेको थियो। यतीखेर सम्म रियलले विल्वाओसँग खेल्न बाँकी नै थियो।
तर आइतबार अबेर भएको खेलमा रियलले विल्वाओलाई हराएपछि रियल शीर्ष स्थानमा उक्लेपछि सेभिया दोस्रो स्थानमा झरेको हो। यती हुँदा पनि सेभिया बार्सिलोना र एथ्लेटिको भन्दा अंक तालिमा अझै अगाडी छ।
विल्वाओलाई हराएपछि ९ खेलबाट २१ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट २० अंक जोडेको सेभिया दोस्रो स्थानमा छ। यस्तै १९ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा छ। सेभियासँग पराजित भएपछि १८ अंक रहेको एथ्लेटिको भने पाँचौ स्थानमा झरेको छ।
घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन स्टेभेन एनजोन्जीले निर्णायक गोल गरे। ७७ औं मिनेटमा कोके दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा झरेको थियो।
अर्को खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २-१ ले हरायो। रियलको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे।
यसअघि करिम बेन्जामाको गोलमा रियलले सातौ मिनेटमा अग्रता लिएको थियो। तर २८ औं मिनेटमा विल्वाओका सविन मेरिनोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। निर्धारित समयको खेल बराबरीतर्फ धकेलिरहेको बेला ८४ औं मिनेटमा मोराटाले गोल गर्दै रियललाई जित दिलाएका हुन्।
आइतबारै भएको खेलमा लस पलमसलाई पराजित गर्दै भियारियाल चौथो स्थानमा उक्लेको छ। एक गोलले पछि परेको स्थिती उल्टाउँदै भियारियालले पलमसलाई २-१ ले हराएको हो। केभिन प्रिन्स बोएटेङको गोल मार्फत पलमसले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। भियारियालको पुनरागमनमा निकोला सानसोन र सेडरिक बाकम्बुले १/१ गोल गरे।