
काठमाडौँ : माओवादी शान्ति प्रक्रियामा जाँदा भागेका पूर्व लडाकुहरुले तीन वर्षअघि खोलेको मंगोल मूलवासी राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्ष उपेन्द्र घर्ति मगरसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी कार्यालय र प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरोको संयुक्त टोलीले आज पत्रकार सम्मलेन गर्दा पक्राउ परेकालाई सार्वजनिक गरेको छ।
राजनीतिक आवरणमा यो समूहले विभिन्न प्रहरी कार्यालयमा आक्रमण गरी हातहतियार लुट्ने, सरकारी कार्यालयमा विस्फोटन गराउने, बैक, रात्री बस लुट्ने गरेको प्रहरीले जानकारी दिएको छ।
महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिह थापाले मंगोल मूलवासी राष्ट्रिय फोर्सले आफूलाई राजनीतिक संस्था भन्ने तर आपराधिक क्रियाकलाप गरिरहेको जानकारी दिए।
फोर्सले तराईको मुद्दालाई लिएर राजनीति गर्ने भन्दै अहिलेसम्म १ सय ४ जनालाई सदस्यता वितरण समेत गरेको देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
रुकुम जिल्लालाई अखडा बनाएर फोर्सले लडाकु समेत भर्ना गर्ने गरेको खुलेको छ।
अहिलेसम्म फोर्सबाट १२ भन्दा बढी भरुवा बन्दुक र सोही मात्रमा कटुवा पेस्तोल र विस्फोटक पदार्थसमेत बरामद गरिएको छ। फोर्सले संगठन विस्तारको लागि पूर्व,मध्य,पश्चिम गरेर तीन क्षेत्रमा विभाजन गरी काम गरिरहेको थियो।