
काठमाडौँ : राजधानीका विभिन्न ११ वटा निजी विद्यालयमा बम राखेर आतंक मच्चाएको अभियोगमा प्रहरीले केहि दिन अघि मात्र मीनबहादुर देवकोटा र केशव दाहाललाई पक्राउ गर्यो।
मीन भनिने विनोद र केशव ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’ नामको राजनीतिक दलमा आवद्ध भएको खुल्यो। देवकोटा अखिल नेपाल राष्ट्रिय विद्यार्थी केन्द्रका संयोजकसमेत थिए।
त्यसको केही दिनमै आज प्रहरीले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत संगठनका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
पक्राउ परेका दुवै संगठनको उद्देश्य राजनीतिक हो। तर राजनीतिलाई आवरणमा राखेर काम भने आपराधिक गतिविधि नै भएको प्रस्ट देखिएको छ।
माओवादी कम्युनिष्ट केन्द्र नेपालले पनि आफू विद्यार्थीको हकहितमा उभिएर काम गर्ने दावी गर्छ। तर त्यही संस्था निजी विद्यालयले माग बमोजिमको चन्दा नदिएपछि विद्यार्थी, अभिभावक र शिक्षकसँगै समाजलाई नै आतंकित बनाउने गरी बम आतंकसमेत मच्चाउन पछि पर्दैन।
मधेशको मुद्दालाई प्राथमिकता दिने भन्दै माओवादी पूर्व लडाकुहरुले खोलेको मंगोल मूलवासी राष्ट्रिय फोर्सको पनि हविगत उही नै देखिन्छ।
राजनीतिक पार्टी भन्ने तर अर्थ संकलनका लागि बैँक, वित्तीय संस्थादेखि बससम्म लुट्ने काम यसले गर्दै आएको छ। हातहतियार संकलनको लागि प्रहरी इकाईहरुमा समेत आक्रमण गर्ने योजना यसले बनाएको प्रहरी अनुसन्धानले देखाएको छ।
राजनीतिक आडमा आपराधिक कामकारबाही गर्ने माओवादी कम्युनिस्ट केन्द्र नेपाल र मंगोल मूलवासी राष्ट्रिय फोर्स दुवैमा माओवादीका पूर्व लडाकुहरु संलग्न छन्।
हतियारसहित भागेका लडाकुको तथ्याङ्क नै छैन
उनीहरु देशमा सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेर गएका लडाकुहरु भएको देखिएको छ। यसरी भागेका लडाकुबाट कति हातहतियार बाहिरिएको छ भन्ने तथ्याङक न प्रहरीसँग छ न त हालको नेकपा माओवादी केन्द्रसँग।नेपाल प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोका डिआइजी बमबहादुर भण्डारी भन्छन्, ‘अहिले हामी विशेष प्रहरी परिचालन गरेर यस्ता व्यक्तिहरुको खोजी गरिरहेका छौँ।‘
उनका अनुसार अतिवादी र भूमिगत संगठन भए पनि अतिवादीलाई पक्राउ गर्ने अधिकार हुँदैन। त्यस्तालाई सि एण्ड वाच (निगरानी) मात्र गर्ने हो।
मंगोल मूलवासी राष्ट्रिय फोर्सले रुकुमलाई अखडा बनाएर विधिवतरुपमा लडाकु भर्ति गरेको समेत प्रहरी अनुसन्धानमा देखिएको छ। त्यस्ता लडाकुलाई तत्कालिन माओवादीले झैँ तालिम समेत दिने गरेको छ।
१ सय ४ जना सदस्य रहेको फोर्समा पूर्व माओवादी लडाकु विमल विकले सैन्य तालिम दिने गरेका छन्। तालिममा यस संगठनले तत्कालीन माओवादीले झै न्यायिक अदालतसमेत खडा गरेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार मंगोल नेशनल आर्मीलाई पार्टीको भ्रातृ संगठनको रुपमा रहेको र त्यस अन्तर्गत मंगोल मुक्ति सेना र मंगोल मुक्ति कमाण्डो गरी दुई किसिमको सैन्य दस्ता थियो। विशेष प्रयोजनको लागि उसले स्पेसल टास्क फोर्स समेत गठन गरेको थियो।